कारबाहीमा पर्नेमा कार्यालय सहयोगीदेखि डीआईजीसम्म
What you should know
काठमाडौँ — सामाजिक सञ्जालमा जथाभावी लेख्ने ५ सय ९९ प्रहरी नै कारबाहीमा परेका छन् । नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीतिविपरीत गैरव्यावसायिक एवं अमर्यादित सामग्री पोस्ट गर्ने प्रहरी कर्मचारीलाई कारबाही गरिएको हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/०७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालहरूमा संगठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोसाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि प्रहरी कार्यालय सहयोगीसम्मलाई विभागीय कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेहरूमा प्रहरी नायब महानिरीक्षक १ जना, प्रहरी वरिष्ठ उपरीक्षक १ जना, प्रहरी उपरीक्षक ४ जना, प्रहरी नायब उपरीक्षक ५ जना, प्रहरी निरीक्षक २४ जना, प्रहरी वरिष्ठ नायब निरीक्षक ११ जना, प्रहरी नायब निरीक्षक २४ जना, प्रहरी सहायक निरीक्षक ५१ जना, प्रहरी वरिष्ठ हवल्दार ७ जना, प्रहरी हवल्दार ३५ जना, सहायक हवल्दार ७६ जना, प्रहरी जवान ३ सय ५८ जना र प्रहरी कार्यालय सहयोगी २ जना रहेका छन् । उनीहरूलाई संगठनको नीतिविपरीत कार्य गरेकोमा सख्त चेतावनी, नसिहतदेखि बढुवा रोक्कासम्मको कारबाही गरिएको छ ।
नेपाल प्रहरीले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन मिति २०७१/०९/११ मा परिपत्र गरी सामाजिक सञ्जालको व्यवस्थित प्रयोग गसम्बन्धी निर्देशिका लागू गरेको छ ।
साथै नेपाल प्रहरीका कर्मचारीले पालना गर्नुपर्ने आचारसंहितासम्बन्धी कार्यादेश-२०७७ एवं प्रहरी प्रधान कार्यालयबाट विभिन्न मितिमा गरिएका परिपत्रहरुमा समेत प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालमा गैरव्यावसायिक र अमर्यादित आचरण प्रदर्शन हुनेगरी हातहतियार, पोसाक, सवारी साधन लगायत प्रहरी गतिविधिका भिडियो/फोटो अपलोड गर्न, टीकाटिप्पणी गर्न बन्देज गरिएको छ ।
