पश्चिम नवलपरासीबाट ३१ जना प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा

आगामी फागुन २१ मा हुने निर्वाचनका लागि नयाँ नेतृत्व र गतिशील कांग्रेस बनाउन विशेष महाधिवेशनमा सहभागी हुन लागेको महाधिवेशन प्रतिनिधि यज्ञ पौडेलले बताए ।

पुस २४, २०८२

नवीन पौडेल

31 delegates from West Nawalparasi in favor of special general convention

परासी — नेपाली कांग्रेसका महामन्त्रीद्वयले आव्हान गरेको विशेष महाधिवेशनका लागि पश्चिम नवलपरासीबाट ३१ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

दुई वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा क्षेत्र नम्बर १ बाट १४ जना र क्षेत्र नम्बर २ बाट १७ जना महाधिवेशन प्रतिनिधि काठमाडौं जाने तयारीमा छन् । ५१ जनामध्ये ३१ जना अहिलेसम्म विशेष महाधिवेशनको पक्षमा खुलेर लागेको र अरू साथीहरू पनि जोडिने क्रममा रहेको नेपाली कांग्रेस पश्चिम नवलपरासीका सचिव उमेश चन्द्र यादवले बताए ।

आगामी फागुन २१ मा हुने निर्वाचनका लागि नयाँ नेतृत्व र गतिशील कांग्रेस बनाउन विशेष महाधिवेशनमा सहभागी हुन लागेको महाधिवेशन प्रतिनिधि यज्ञ पौडेलले बताए ।

‘जेनजी आन्दोलन, मुलुकको नयाँ परिस्थिति र  कांग्रेसको पुन:संरचनाको समय यही हो,’ पौडेलले भने, ‘अहिले कुन गुटभन्दा पनि नयाँ नेतृत्वसहित चुनावमा जाने भन्ने हाम्रो एजेण्डा हो ।’

जिल्लामा विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकाहरूलाई नियमित महाधिवेशन गर्ने पक्षमा रहेका नेताहरूले हस्ताक्षर फिर्ता गर्न अभियान नै चलाएका छन् ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully