कोशीमा मन्त्रिपरिषद् कार्यसम्पादन सुदृढ बनाउन ३ समिति गठन

आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीलाई कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

पुस २४, २०८२

कान्तिपुर संवाददाता

3 committees formed to strengthen the performance of the Council of Ministers in Koshi

विराटनगर — कोशी प्रदेश सरकारले मन्त्रिपरिषद्को कार्यसम्पादनलाई प्रभावकारी बनाउन बिहीबार तीनवटा महत्वपूर्ण समिति गठन गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले नीति–निर्णयलाई व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यसहित राजनीतिक, कानुनी तथा आर्थिक–पूर्वाधार क्षेत्र समेट्ने समिति निर्माण गर्ने निर्णय गरेको हो।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीका अनुसार कार्य सम्पादन नियमावली २०७९ को दफा २६ बमोजिम मन्त्रिपरिषद्लाई राय–सुझाव दिने, सल्लाह प्रदान गर्ने र निर्णय कार्यान्वयनमा सहयोग गर्ने उद्देश्यले समितिहरू गठन गरिएको हो।

बैठकले पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको संयोजकत्वमा राजनीतिक तथा प्रशासन समिति, आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीको संयोजकत्वमा कानुन, न्याय तथा प्रदेश मामिला समिति, तथा पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवारको संयोजकत्वमा आर्थिक, सामाजिक तथा पूर्वाधार समिति गठन गरेको छ।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन गर्ने निर्णय गर्दै योजना प्रणालीलाई थप सुदृढ बनाउने संकेत दिएको छ।

बैठकले सरकारको निर्णय र गतिविधिबारे सार्वजनिक जानकारी प्रवाहलाई प्रभावकारी बनाउन आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीलाई कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पनि दिएको छ।

कान्तिपुर

Link copied successfully