मधेशी र मुस्लिम आयोगमा पुगेर गृहमन्त्रीले गरे पदाधिकारीहरुसँग छलफल

पछिल्ला दिनमा तराई मधेशका केही जिल्लामा सतहमा आएका साम्प्रदायीक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रित भएको हो ।

पुस २३, २०८२

कान्तिपुर संवाददाता

Home Minister visits Madhesi and Muslim Commission and holds discussions with officials

What you should know

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले ललितपुरस्थित मधेशी आयोग र मुस्लिम आयोगमा पुगी आयोगका पदाधिकारीहरुसँग भेटघाट तथा समसामयिक विषयमा छलफल गरेका छन् ।

मन्त्री अर्याललाई ललितपुर जावलाखेलमा रहेको मुस्लिम आयोगमा आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलि तथा आयोगका अन्य पदाधिकारीहरुले र मधेशी आयोग ज्वागलमा आयोगका कार्यवाहक अध्यक्ष जीवछ साह तथा आयोगका अन्य पदाधिकारीहरुले स्वागत गरे ।

पछिल्ला दिनमा तराई मधेशका केही जिल्लामा सतहमा आएका साम्प्रदायीक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रित भएको हो । त्यस्तै, संविधानले संवैधानिक निकायको रुपमा व्यवस्था गरेका दुवै आयोगहरुको काम, कर्तव्य, अधिकार, आयोगले भोगीरहेका समस्या तथा सरकारसँग आयोगका अपेक्षा लगायतका विषयमा पनि आयोगका पदाधिकारीहरुले मन्त्री अर्याललाई जानकारी गराए ।

छलफलको क्रममा मन्त्री अर्यालले धार्मिक सम्प्रदायबीच आपसी सद्भाव कायम गर्न मधेशी, थारु र मुस्लिम आयोगबाट जारी भएको संयुक्त अपिलको खुलेर प्रशंसा गरे । नागरिक समाजको पनि नागरिक समाजको रुपमा रहेका आयोगहरु तथा सबैको सहयोगमा पछिल्ला दिनमा देखिएका त्यस्ता समस्याहरु समाधान उन्मुख भएको भन्दै मन्त्री अर्यालले त्यस्ता घटना दोहोरिन नदिन तथा समाजमा शान्ति तथा सद्‍भाव कायम राख्‍ने सम्बन्धमा सबैको सकारात्मक भूमिकको अपेक्षा राखे ।

त्यस्तै, पछिल्ला घटनाक्रमलाई समयमै सम्बोधन गरी सामाजिक सद्‌भाव कायम राख्ने सम्बन्धमा गृह मन्त्रालयले सक्रियता देखाई अवैध गतिविधिमा संलग्नलाई कारबाही, सरोकारवालासँग समन्वय बैठक, सद्भाव र्‍याली, जाँच कडाइ, र शान्ति तथा सामाजिक सद्भाव समिति गठनलगायतका कार्यहरु गर्न गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई जारी गरीएको सर्कुलरको आयोगका पदाधिकारीहरुले स्वागत गरे।

गृहमन्त्री अर्यालले आयोगलाई आवश्यक सहयोग गर्न सरकार सधैँ तत्पर रहेको विश्वास दिलाउँदै कतिपय विषयहरुमा आयोगका तर्फबाट आवश्यकता अनुसार नेपाल सरकारलाई ध्यानाकर्षण तथा सल्लाह, सुझावको अपेक्षासमेत राखे ।

धार्मिक तथा सामाजिक सहिष्णुता खल्बल्याउन खोज्ने वा खल्बल्याउने जोसुकै उपर कानुन बमोजिम कारबाही हुने बताउँदै मन्त्री अर्यालले विवेकको संरक्षकको रुपमा रहेका आयोगहरुले धार्मिक तथा सामाजिक सहिष्णुता कायम राख्ने सन्दर्भमा जनचेतना फैलाउने लगायतका कार्यहरु गरी यस्ता समस्याको दीर्घकालीन समाधानको लागि आयोगको तर्फबाट आवश्यक कार्यक्रमहरु गर्न अनुरोधसमेत गरे ।

छलफलको क्रममा मधेशी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेशी आयोग कुनै धर्म विशेषको भन्दा पनि समग्र मधेशी समूदायको आयोग रहेको बताए । त्यस्तै, मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलिले समाजमा धार्मिक, सामाजिक सद्‍भाव कायम गर्ने सम्बन्धमा आयोगले सधैं आवश्यक सकारात्मक भूमीका निर्वाह गर्ने प्रतिबद्धत व्यक्त गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully