दलित समुदायप्रति कोशी सरकार सधैं किन अनुदार ?

कांग्रेसभित्र देउवा, सिटौला र कोइराला समूह तथा एमालेभित्र ओलीनिकट र अन्य समूहको सन्तुलन मिलाउँदा सामाजिक समावेशिता फेरि पृष्ठभूमिमा धकेलिएको छ ।

पुस २२, २०८२

पर्वत पोर्तेल

Why is the Koshi government always so lenient towards the Dalit community?

What you should know

विराटनगर — कोशी प्रदेशको दोस्रो कार्यकालमा तेस्रोपटक मुख्यमन्त्री बनेका हिक्मतकुमार कार्कीले मंगलबार प्रदेश मन्त्रिपरिषद् पुनर्गठन गर्दा बल्लतल्ल एक जना महिला राज्यमन्त्री समेटे । कोशी सरकारको मन्त्रिपरिषद् पुनर्गठनको विषयले समावेशी शासनको बहसलाई फेरि सतहमा ल्याइदिएको छ ।

पुनर्गठित मन्त्रिपरिषद्ले विगतकै अभ्यासलाई निरन्तरता दिँदै दलित समुदायलाई फेरि कार्यपालिकाभित्र छिर्नै दिएन । संविधानले प्रत्याभूत गरेको समानुपातिक समावेशिताको मर्म कागजमै सीमित रहेको कोशी प्रदेश सरकार दलित समुदायप्रति अनुदार बनेको हो ।

पुनर्गठित मन्त्रिपरिषद‍्मा  कांग्रेस र एमालेबाट समान संख्यामा चार/चार जना मन्त्री र एक/एक जना राज्यमन्त्री नियुक्त गरिए । सत्ता साझेदारीको अंकगणित मिलेको देखिए पनि सामाजिक समावेशिताको दृष्टिले मन्त्रिपरिषद् ‘एकपाखे’ बनेको छ । अघिल्ला सरकारझैं यसपटक पनि एक जना पनि दलित सांसदलाई मन्त्री बनाइएको छैन । 

यो गल्ती एक पटकको हैन । पटक–पटकको यो समस्या संरचनागत निरन्तरताको परिणाम हो ।  २०७४ यता कोशी प्रदेशमा नौ पटक सरकार फेरिएका छन् । पहिलो कार्यकालमा तीन पटक र हालको कार्यकालमा छ पटक । 

मन्त्रिपरिषद् १८ औं पटक हेरफेर हुँदा ९५ भन्दा बढी मन्त्री नियुक्त भइसकेका छन् । तर, यी सबै सरकारमध्ये एक जनालाई पनि दलित समुदायबाट क्याबिनेट मन्त्री बनाइएको छैन । 

अघिल्लो कार्यकालमा एमालेकी दलित सांसद जसमाया गजमेर सामाजिक विकास राज्यमन्त्री बनेकी थिइन् । दोस्रो कार्यकालमा कांग्रेसकी सुनिता कुमारी गुरुङ राम राज्यमन्त्री बनिन् । यी दुई उदाहरणले दलित समुदायलाई नीति निर्माणको केन्द्रभन्दा सहायक तहमा सीमित राखेको स्पष्ट देखाउँछ ।

‘दलित समुदायको सहभागिता नीति निर्माणको केन्द्रमा होइन, प्रतीकात्मक उपस्थितिमा सीमित राखिएको छ,’ मनमोहन विश्वविद्यालयको कानुन संकायका प्राचार्य कोषराज न्यौपाने भन्छन्, ‘यो समावेशिता होइन, व्यवस्थापन मात्र हो ।’

सांसद छन्, तर शक्ति छैन

कोशी प्रदेश सभामा कांग्रेस र एमालेबाट एक/एक जना, नेकपा (माओवादी केन्द्र) र राप्रपाबाट पनि एक/एक जना गरी चार दलित सांसद छन् । प्रतिनिधित्व शून्य छैन, तर निर्णयकारी तहमा पहुँच छैन  । दलित अधिकारकर्मीहरूका अनुसार यही नै मूल समस्या हो, ‘उपस्थिति छ, तर अधिकार छैन ।’

‘दलितलाई चुनाव जिताएर संसदमा पठाइन्छ, तर सत्ता बाँडफाँट हुँदा उनीहरू बिर्सिन्छन् । यसलाई हामी राजनीतिक बहिष्करण भन्छौं,’  झापाका दलित अभियन्ता तथा अधिवक्ता नरेश खाती भन्छन्, ‘संविधानले दिएको अधिकार व्यवहारमा कार्यान्वयन नहुनु राज्यको असफलता हो ।’ 

अधिवक्ता खातीका अनुसार नेपालको संविधानले कार्यपालिका पनि समानुपातिक समावेशिताका आधारमा गठन हुनुपर्ने स्पष्ट मर्म बोकेको छ । धारा ७६(९) ले मन्त्रिपरिषद् गठन गर्दा समावेशिताको सिद्धान्त अपनाउनुपर्ने उल्लेख गर्छ । धारा ४० ले दलित समुदायलाई राज्यका सबै अंगमा समानुपातिक सहभागिताको अधिकार दिन्छ ।

‘तर, कोशी प्रदेशको अभ्यास हेर्दा समावेशिता भाषण र दस्तावेजमा सीमित देखिन्छ’, खाती थप्छन्, ‘राजनीतिक दलहरू न्यूनतम कानुनी बाध्यता पूरा गरेर समावेशिताको जिम्मेवारीबाट उम्कने प्रवृत्तिमा छन् । महिला र दलितलाई मन्त्री बनाउन नपर्ने कुनै कानुनी बाध्यता छैन भन्ने तर्क अघि सारेर कार्यपालिकालाई पुरानै शक्ति संरचनामा सीमित राखिएको छ ।’

दलित अधिकारकर्मीहरू यो विषयलाई ‘आरक्षण माग’ को रूपमा होइन, संवैधानिक अधिकारको प्रश्नको रूपमा हेर्छन् । दलित अधिकारकर्मी तथा लेखक जेवी विश्वकर्मा भन्छन्, ‘दलितलाई मन्त्री बनाउनु दया होइन, अधिकार हो । संविधानले समानुपातिक सहभागिताको कुरा गर्छ भने त्यसको अर्थ सत्ता संरचनामा दलितको उपस्थिति अनिवार्य हुनुपर्छ ।’

विश्वकर्माका अनुसार दलित समुदायलाई सधैं ‘योग्यता छैन’ भन्ने भाष्य सिर्जना गरेर पन्छाइन्छ, तर नेतृत्वमा पुगेका धेरैजसो गैरदलित नेताहरू पनि राजनीतिक भागबन्डाका आधारमा नै मन्त्री बनेका हुन्छन् । 

गुट, गणित र बहिष्करण

कोशीको पछिल्लो मन्त्रिपरिषद् पुनर्गठनमा पनि गुट सन्तुलन, क्षेत्रीय भागबन्डा र दलगत शक्ति गणित प्राथमिकतामा परेको देखिन्छ । कांग्रेसभित्र देउवा, सिटौला र कोइराला समूह तथा एमालेभित्र ओलीनिकट र अन्य समूहको सन्तुलन मिलाउँदा सामाजिक समावेशिता फेरि पृष्ठभूमिमा धकेलिएको छ ।

‘सरकार बारम्बार फेरिए पनि सत्ता संरचनाको सामाजिक चरित्र फेरिन नसक्नु कोशी प्रदेशको लोकतान्त्रिक अभ्यासको ठूलो कमजोरी हो’, राजनीतिक विश्लेषक कृष्ण पोखरेल भन्छन्, ‘महिला र दलितलाई निर्णायक तहबाट निरन्तर बाहिर राख्दा लोकतन्त्रको गुणस्तर कमजोर हुन्छ ।’ उनका अनुसार समावेशिता  नैतिक प्रश्न मात्रै होइन, सुशासन र प्रभावकारी सेवा प्रवाहसंग प्रत्यक्ष जोडिएको विषय पनि हो । 

लोकतन्त्रको विश्वसनीयतामाथि प्रश्न

दलित समुदाय कोशी प्रदेशको सामाजिक संरचनाको महत्वपूर्ण हिस्सा हो । जनसंख्याको हिसाबले उल्लेख्य उपस्थिति हुँदाहुँदै पनि कार्यपालिकाबाट निरन्तर बहिष्करण हुनु लोकतन्त्रको विश्वसनीयतामाथिकै प्रश्न हो । 

प्रतिनिधित्व नहुँदा नीति निर्माणमा दलित समुदायका मुद्दा प्राथमिकतामा पर्दैनन्, जसले सामाजिक विभेदलाई थप संस्थागत बनाउँछ । जस्तो कि दलित सशक्तिकरण सम्वन्धी ऐन विगत ७ वर्षदेखि अलपत्र पारिदै आएको छ ।

खर्च बढ्ने कारण देखाउँदै सरकारले बारम्बार यो ऐनको मस्यौदामै अलपत्र पारेको  नेकपा माओवादी केन्द्रकी सांसद सपना परियारले जनाइन् ।  ‘दलितहरुको सशक्तीकरणका लागि ऐन बनाउन त सरकार मन्जुर छैन,’ परियारले भनिन्, ‘दलितलाई क्याबिनेट मन्त्री नै बनाउने त कल्पनाबाहिरको कुरा हो ।’

दलित अधिकारकर्मीहरूको साझा निष्कर्ष छ, यदि संविधानको मर्मअनुसार समावेशिता कार्यान्वयन नहुने हो भने संघीयता र लोकतन्त्र दलित समुदायका लागि खोक्रो नारा मात्र बन्नेछ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully