एक काठ गोदाममा भएको आगलागीपछि धुवाँको असरले विमानस्थलका आन्तरिक र बाह्यतर्फ उडान स्थगित गरिएको छ ।
काठमाडौँ — सिनामंगलको एक काठ गोदाममा आगलागीपछि निस्किएको धुवाँको मुस्लोका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित भएको छ ।
मंगलबार अपराह्न गोदाममा भएको आगलागीपछि धुवाँको असर विमानस्थलसम्म फैलिएपछि तत्काल आन्तरिक र बाह्यतर्फका सबै उडान-अवतरण स्थगित गरिएको नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले बताए । 'धुवाँको असर नरोकिएसम्म उडान प्रभावित हुन्छ,' उनले भने ।
आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । आगलागीको कारण र क्षतिको विवरण खुल्न बाँकी छ ।
