सुशासनका लागि सूचना प्रविधिको विकास अत्यावश्यक : सञ्चारमन्त्री खरेल

नेपाल चेम्बर अफ कमर्समा एआई नीति र औद्योगिक विकासमार्फत नेपालको डिजिटल भविष्यबारे बृहत् अन्तरक्रियामा मन्त्री जगदीश खरेलले नेपालमा एआई प्रविधिको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानुनी सहजतामार्फत डिजिटल भविष्य निर्माण गर्न सकिने बताएका हुन् ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Development of information technology essential for good governance: Communications Minister Kharel

What you should know

काठमाडौँ — देशको सुशासनका लागि आईटीको विकास महत्त्वपूर्ण भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताएका छन् । सरकारी सेवालाई चुस्त र प्रभावकारी बनाउन एवं आर्थिक पारदर्शिताका लागि पनि सूचना प्रविधिको विकास महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

नेपाल चेम्बर अफ कमर्समा एआई नीति र औद्योगिक विकासमार्फत नेपालको डिजिटल भविष्यबारे बृहत् अन्तरक्रियामा मन्त्री खरेलले नेपालमा एआई प्रविधिको प्रभावकारी उपयोग, नीतिगत स्पष्टता र कानुनी सहजतामार्फत डिजिटल भविष्य निर्माण गर्न सकिने बताएका हुन् । यसका लागि सरकार, निजी क्षेत्र र सरोकारवाला निकायबीच साझा समझदारी आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले एआई केवल प्रविधिको विषय मात्र नभई आर्थिक पारदर्शिता, उद्यमशिलता प्रवर्द्धन र रोजगारी सिर्जनाको महत्त्वपूर्ण आधार बन्दै गएको बताए ।

डिजिटल रुपान्तरणमार्फत सार्वजनिक सेवालाई प्रभावकारी बनाउने, व्यावसायिक लागत घटाउने र निर्णय प्रक्रियामा पारदर्शिता ल्याउन एआईको भूमिका महत्त्वपूर्ण हुने अध्यक्ष अग्रवालको भनाइ छ ।

अध्यक्ष अग्रवालले एआईको माध्यामबाट कृषि, स्वास्थ्य, शिक्षा, वित्त, ऊर्जा तथा सार्वजनिक सेवामा गुणस्तर सुधार गर्दै सीमित स्रोतबाट अधिकतम उपलब्धि हासिल गर्नुपर्ने बताए ।

कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले आईटीको विकासमार्फत दिगो आर्थिक विकास गर्नुपर्ने बताए ।

सो क्रममा चेम्बरको आईटी, सफ्टवेयर र टेक्नोलोजी समिति तथा युनियन अफ इन्फर्मेसन कम्युनिकेसन एन्ड टेक्नोलोजी नेपालबीच सूचना प्रविधि र एआईको क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा सम्झौतासमेत भएको छ । सम्झौतामा चेम्बर आईटी समिति सभापति विज्ञान श्रेष्ठ र युनियन अफ इन्फरमेसन कम्युनिकेसन एन्ड टेक्नोलोजीका तर्फबाट महासचिव कुशल रेग्मीले हस्ताक्षर गरेका थिए ।

कान्तिपुर

Link copied successfully