सूचना तथा प्रसारण विभागका तत्कालीन महानिर्देशक परियारसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले दियो सफाइ

काठमाडौं महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका बेला प्रदीप परियारसहितले मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियाले २८ जेठ मा दायर गरेको मुद्दामा विशेषले मंगलबार सफाइ दिएको हो ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

The special court acquitted 7 people, including the then Director General of the Department of Information and Broadcasting, Pariyar, in a corruption case.

What you should know

काठमाडौँ — सूचना तथा प्रसारण विभागका तत्कालीन महानिर्देशक प्रदीप परियारसहित ७ जनालाई भ्रष्टाचार मुद्दामा विशेष अदालतले सफाइ दिएको छ ।

काठमाडौं महानरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रहेका बेला परियारसहितले मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २८ जेठ २०८२ मा दायर गरेको मुद्दामा विशेषले मंगलबार सफाइ दिएको हो ।

परियारसहित महानगरका तत्कालीन निर्देशकहरु रवीन्द्रमान श्रेष्ठ, युवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इन्जिनियर जनार्दन गिरीविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो । सातैजना प्रतिवादीलाई अख्तियारले जनही ४ करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजायको माग दाबी गरेकामा विशेषले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।

महानगरपालिकाको सामाखुसी करिडोरअन्तर्गत बसुन्धारादेखि म्हेपीसम्म ढल निर्माणसम्बन्धी ठेक्कामा अनियमितता गरेको आरोपमा अख्तियारले अनुसन्धान गरेको थियो । जसमा सबैभन्दा कम अंकमा कबोल गरेका ठेकेदारलाई अयोग्य ठहर गरी बढी अंक कबोल गरी ठेक्का लगाएको अभियोगमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको थियो ।

कम अंक कबोल गर्ने समानान्तर सेवा प्रालिले १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ बराबरको बोलपत्र पेस गरेकोमा महानगरका तत्कालीन कर्मचारीहरुले बढी अंक कबोल गर्ने कल्पवृक्ष कोहीनूरलाई २२ करोड ४० लाख ९४ हजार ६१२ प्रस्तावमा सम्झौता गरेकोमा बढी अंक कबोल गरिएको रकमलाई बिगो कायम गरी अख्तियार मुद्दा दायर गरेको थियो मंगलबार विशेषका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अख्तियारको दाबी नपुग्ने फैसला सुनाएको हो ।

कान्तिपुर

Link copied successfully