लामिछानेको प्रश्न– ‘मलाई दुई घण्टामा सूचना टाँसेर निकाल्ने संसद् ब्युँताउने भन्नुभएको हो ?’

सभापति रवि लामिछानेले उपसभापति स्वर्णिम वाग्लेलाई भने- 'डाक्टर सा'ब, आउने वर्षको बजेट लेख्न सुरु गर्नुस्'

पुस २१, २०८२

कान्तिपुर संवाददाता

Lamichhane's question: ”Are you telling me to wake up Parliament and issue a notice in two hours?”

What you should know

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् पुनःस्थापना नभइ नयाँ संसद् आउने बताए । काठमाडौंमा सोमबार आयोजित पार्टीको कार्यक्रममा सभापति लामिछानेले जनताका आवाज उठाउँदा माइक काट्ने संसद् पुनःस्थापना हुन नसक्ने बताए । 

नयाँ जनादेशसहित संसद् आउने लामिछानेको भनाइ थियो । अघिल्लो संसद्‌मा शक्तिको दम्भका आधारमा चलाइएको पनि लामिछानेले बताए । भ्रष्टाचार र बेथितिका मुद्दा उठाउँदा सांसद्ले बोल्ने माइक काटिएको उनले बताए ।  

देशमा परिवर्तनका लागि पटक-पटक अवसर आउँदा पनि त्यसको सदुपयोग हुन नसकेको सभापति लामिछानेको भनाइ थियो । रास्वपालाई प्राप्त अवसर देशको पक्षमा हुने उनले दाबी गरे । 'देशले पाएको अवसरलाई केही अवसरवादीहरूले आफ्नो पोल्टामा पारे, देश गरिबको गरिब रह्यो । अब त्यो हुनेवाला छैन । रास्वपाको उपस्थितिमा तपाईं–हामीलाई साक्षी राखिसकेपछि अब त्यस्तो हुनेवाला छैन । इतिहासले दिएको यो अवसरलाई हामीले व्यक्तिगत लाभका लागि र पार्टीका लाभका लागि खर्च गर्नेवाला छैनौं । देशको हितका लागि समर्पित गर्ने छौँ,' उनले भने । 

त्यस्तै, टीकापुर घटनाबारे आफूले पत्रकार हुँदा दिएका अभिव्यक्तिलाई लिएर पनि लामिछानेले माफी मागेका छन् । 'थरुहट आन्दोलन, थारु आन्दोलन र टीकापुरका घटनालाई लिएर र म सञ्चारकर्मी रहँदा मेरो सूचनाको दायरा आज जति फराकिलो थिएन । मेरो बुझाइको दायरा कम हुँदा मैले कहीँकतै मन दुखाएको छु भन्ने मलाई महसुस भएको छ । आज यस पावन दिनमा, ऐतिहासिक दिनमा मन दुखेका सबैप्रति म हृदयदेखि नै क्षमायाचना गर्न चाहन्छु,' लामिछानेले भने । आफू सिकारु राजनीतिकर्मीका रूपमा अगाडि बढिरहेको लामिछानेको भनाइ थियो । 

लामिछानेले पुराना राजनीतिक दलहरू प्रतिपक्षमा बस्न तयार हुनुपर्ने बताए । उनले पुराना राजनीतिक दलहरूबाट देशले निकास नपाएको, राज्यसत्ताको चरम दुरुपयोग गरिएको बताए । रास्वपाले उठाएका भ्रष्टाचारका मुद्दालाई शक्तिको दम्भमा संसद्‌मा राख्न नदिएको पनि उनको भनाइ थियो । 'संसद्लाई तपाईहरूले शक्तिको दम्भ देखाएर नागरिकका मुद्दाहरूलाई दबाउने कोसिस गर्नुभयो । जनताले मन पराएका भर्खरका नाति-नातिना पुस्ताका सांसदहरूले भ्रष्टाचारकोविरुद्ध उठाएको आवाजमा माइक काट्ने काम भयो,' लामिछानेले भने, 'जुन संसद्‌बाट मलाई जबर्जस्ती बाहिर निकालियो, दुई घन्टामा सूचना टासेर, त्यही संसद् फेरी ब्युँउताउने भनिरहनु भएको छ । केका लागि ब्युँताउन खोज्नु भएको हो ? इन्दिरा राना जस्तो समाजसेवीलाई मानव तस्करको आरोप लगाउने पाप गर्नका लागि ?' अब नयाँ जनादेशसहित संसद् आउने उनको भनाइ थियो ।

कांग्रेस र एमालेले संसद् पुनःस्थापना हुनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । लामिछानेले भने संसद् पुनःस्थापना नभइ ताजा जनादेशसहितको संसद् आउने बताए ।

रास्वपाको नेतृत्वमा मुलुकले नयाँ दिशा लिनुपर्ने लामिछानेको भनाइ थियो । 'हामी यो सबै पुरानो अभ्यासको युगबाट एकैचोटी डिपार्चर लिने हो । एउटा पार्टी, एउटा झन्डा, एउटा चुनाव चिह्न, एउटा प्रधानमन्त्री, एउटा अध्यक्ष । स्वर्णिम वाग्ले यहाँ हुनुहुन्छ, डाक्टर सा'ब, आउने वर्षको बजेट लेख्न सुरु गर्नुस् । नेताका रुपमा, पार्टीका रुपमा हामीले के गर्नुपर्छ हामी गर्छौं, आफ्नो स्वार्थलाई अगाडि राखेर हैन, देशको स्वार्थलाई अगाडि राखेर म वाचा गर्छु,' लामिछानेले भने, 'जनताका रुपमा तपाईंको हात नकामोस् । अहिले देखिएको छ यसलाई ट्रेलर मात्र मान्नुहोस्, सिनेमा त रास्वपाले पनि देखाउँछ तर प्रतिशोधपूर्ण होइन ।' 

मुलुकमा चुनाव हुन्छ कि हुँदैन भन्ने अन्योल भएको बेलामा रास्वपाका राजनीतिक गतिविधिले नागरिकमा आशाको सञ्चार भएको लामिछानेको भनाइ थियो । पार्टीमा नयाँ राजनीतिक दल र समूहलाई जोड्ने क्रम जारी रहने पनि उनले बताए । पार्टीमा आएका सबैलाई सँगै लैजाने पनि उनले बताए । 

कान्तिपुर

Link copied successfully