इजरायलमा कृषि क्षेत्र र केयरगिभरमा श्रमिक पठाउन बाटो खुला

श्रम मन्त्रालयका अनुसार सरकारी संयन्त्रबाटै श्रमिकको भर्ना प्रक्रिया अगाडि बढाइनेछ ।

पुस २१, २०८२

होम कार्की

Israel opens the way for sending workers to the agricultural sector and caregivers

What you should know

काठमाडौँ — सरकारले इजरायलको कृषि र घरमा आधारित सहायक श्रमिक (केयरगिभर) क्षेत्रमा नेपाली पठाउने बाटो सोमबार खुल्ला गरेको छ ।

सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषिका नेपाली विद्यार्थीलाई कृषि क्षेत्रमा र घरमा आधारित सहायक श्रमिक (केयरगिभर)लाई ५ वर्षको दीर्घकालीन रोजगारी दिन भन्दै इजरायलद्वारा पठाईएको थप दुई वटा नयाँ प्रोटोकलको मस्यौदालाई पारित गरेको हो । अब यी दुई प्रोटोकलमा हस्ताक्षर हुने बाटो खुलेको छ  । 

इजरायल र नेपालबीच भएको श्रम सम्झौता अर्न्तगत थप दुई वटा प्रोटोकल र एकको परिमार्जन हुन लागेको हो । इजरायलसँग दीर्घकालीन सेवा केन्द्र (वेताबोध)मा सहायक श्रमिक पठाउने मात्रै प्रोटोकल छ । यसलाई पनि परिमार्जन सहितको मस्यौदा पठाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार इजरायलले पठाएको तीन वटा प्रोटोकलसम्बन्धी मस्यौदाले पूर्णता पाएको छ । एउटा अस्पताल (वेताबोध)मा रहेका वृद्धवृद्धालाई स्याहारसुसार गर्ने पहिला नै गरिएको प्रोटोकललाई थप परिमार्जन गरी आएको छ । दोस्रो कृषिका विद्यार्थीलाई रोजगारी दिने र तेस्रो घरमा नै बसेर केयरगिभरमा रोजगारी दिने हो ।

श्रम मन्त्रालयका अनुसार तीन वटै क्षेत्रमा सरकारी संयन्त्रबाटै श्रमिकको भर्ना प्रक्रिया अगाडि बढाइनेछ । लर्न एन्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल जाने कृषि विद्यार्थीलाई कृषि क्षेत्रमा नै श्रमिकको हैसियतमा काम लगाउने नेपालस्थित इजरायली दूतावासले जनाएको छ । लर्न एन्ड अर्न कार्यक्रम ११ महिनाको मात्रै हुन्छ । अहिलेसम्म इजरायलमा यो कार्यक्रमअन्तर्गत तीन हजार जना विद्यार्थी गइसकेका छन् । 

त्यस्तै, घरमा नै बसेर वृद्धवृद्धा र शारीरिक अशक्तता भएका व्यक्तिलाई पनि स्याहारसुसार गर्ने क्षेत्रमा रोजगारी दिने इजरायलले जनाएको  छ । यो क्षेत्रमा २००७ देखि नै नेपाली जान थालेको थियो । त्यतिखेर काम गर्न पुगेका नेपालीले अहिले पनि घरमै काम गरिरहेको छ ।

तर म्यानपावर कम्पनीमार्फत पठाउँदा आर्थिक शोषण भएको भन्दै बन्द भएपछि नया श्रमिक जान पाएको छैन । हाल इजरायलमा झन्डै ५ हजार नेपाली कार्यरत छन् । चार वर्षदेखि भने वेताबोधमा मात्रै गइरहेका छन् । एक वर्ष अगाडि वेताबोधका लागि २१ सय १२ जना छानिएका छन् । जसमध्ये ९ सय जना गइसकेका छन् ।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully