प्रहरीका अनुसार प्रकाउ परेकामध्ये एकले भारतबाट नक्कली मेसिन र अन्य सामाग्री नेपाल ल्याएका थिए ।
काठमाडौँ — प्रहरीले नक्कली नोट छाप्ने काममा संलग्न ६ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट एक हजारका ९३ थान नक्कली नोट बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय बारासँगको समन्वयमा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूलाई काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेल चोकबाट पक्राउ गरेको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२, कबलपुरका गौरी शंकर यादव, भारतीय नागरिक रबि कुमार श्रीवास्तव लगायत छन्। प्रहरीका अनुसार रबि कुमारले भारतबाट नक्कली मेसिन र अन्य सामाग्री नेपाल ल्याएका थिए।
पक्राउ परेकाहरूलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद पाएको छ ।
