उपाध्यक्ष बस्नेतले आफ्नो चारवर्षे कार्यकालमा भए/गरेका उपलब्धिमूलक कामहरुको विवरणसहितको ३५ बुँदे श्वेतपत्रसमेत जारी गरेका हुन् । उ
भक्तपुर — राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत आफ्नो चारवर्षे कार्यकालमा भएका कामहरुको विवरणसहितको ३५ बुँदे श्वेतपत्र जारी गरेका छन् ।
परिषद्मा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष बस्नेतले आफ्नो चारवर्षे कार्यकालमा भए/गरेका उपलब्धिमूलक कामहरुको विवरणसहितको ३५ बुँदे श्वेतपत्रसमेत जारी गरेका हुन् । उनले चारवर्षे कार्यकालमा चार प्रधानमन्त्री र पाँच युवा तथा खेलकुदमन्त्री फेरिए पनि आफूले पूरा कार्यकाल काम गर्न पाएको भन्दै यस अवधिमा १० हजारभन्दा बढी युवाको नेतृत्व विकासका लागि नमूना संसद् अभ्यास गराइएको, राष्ट्रिय युवा नीति २०८२ जारी गरेको बताए ।
आफ्नो कार्यकालमा युवाका लागि ३९० घण्टे निःशुल्क रोजगारमूलक सीप विकास तालिम, नमूना संयुक्त राष्ट्रसंघीय अभ्यास लगायतका कार्यक्रम सुरु गरेको उनले बताए । पत्रकार सम्मेलनपछि परिषद्ले आजै आयोजना गरेको बिदाइ कार्यक्रममा कर्मचारीहरुले उपाध्यक्ष बस्नेतको बिदाइ गरेका थिए ।
नेपाल सरकारअन्तर्गत रहेको राष्ट्रिय युवा परिषद् ऐन–२०७२ अनुसार बस्नेत २०७८ पुस २१ गते तत्कालीन मन्त्रिपरिषद्को निर्णयबाट परिषद्को कार्यकरी प्रमुखका रुपमा काम गर्ने गरी नियुक्त भएका थिए ।
