नेपालमा चरा प्रजातिको कुल संख्या ९०३ पुगेको छ । विश्वमै दुर्लभ चरासमेत देखिनुले चरा पर्यटनको सम्भावना बढेर गएको विज्ञहरू बताउँछन् ।
What you should know
काठमाडौँ — सन् २०२५ मा नेपालमा ६ वटा नयाँ चरा अभिलेख भएका छन् । यी चरा पूर्वको काँकडभिट्टादेखि मधेशको सप्तरी, लुम्बिनी प्रदेश, काठमाडौं उपत्यका र सुर्खेतको बुलबुले तालसम्म भेटिएका हुन् ।
पर्पल रम्प्ड सनबर्ड (बैजनी बुंगे)
१९ फेब्रुअरी २०२५ मा 'पर्पल रम्प्ड सनबर्ड' झापाको मेचीनगर नगरपालिका-६ काँकडभिट्टामा रेकर्ड भयो । उक्त चराको नेपाली नाम 'बैजनी बुंगे' राखिएको छ ।
चरा अनुसन्धानकर्मी देवेन्द्रकुमार खरेलले अवलोकनका क्रममा एभोकाडो र शीतल चिनीको रुखमा भाले/पोथी चरा देखेका हुन् । खरेलपछि चराविद् अनिश तिम्सिना, चक्र तिमिसना र शंकर लुइँटेलले पनि उक्त चरा देखेको नेपाल पन्छीविद् संघले जनाएको छ । यो चरा बंगलादेश, भारत, म्यानमार र श्रीलंकामा आवासीय रूपमा पाइन्छ ।
भायोलेट कुक्कु (बैजनी कोइली)
चराविद् राजेन्द्र गुरुङसहितको टोलीले चरा अवलोकनको क्रममा ७ अप्रिलमा समुद्र सतहबाट तीन सय मिटर उचाइमा रहेको इलामको सुखानी वन क्षेत्रका 'बैजनी कोइली' फेला पार्यो ।
गुरुङको साथमा मलेसियाका चरा विज्ञ एलेकजान्डर जोन एङ याङ र रोजर रोबर्ट राजा र नेपाली चराविद् अनिश तिमिल्सिना पनि संलग्न थिए । उक्त चरा 'भायोलेट कुक्कु' भएको टोलीले प्रारम्भिक पहिचान गरेको थियो । चराको फोटो र भिडियो नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएपछि यसको पुष्टि भयो ।
सो चराको वैज्ञानिक नाम क्राइसोककस साइन्थोरिंकस हो । यो चरा भुटान, मलेसिया, सिंगापुर, बंगलादेश, ब्रुनाई, चीन, भारत, इन्डोनेसिया, लाओस, फिलिपिन्स, म्यानमार, थाइल्यान्ड र भियतनाममा आवासीय रुपमा पाइने गरेको नेपाल पन्छीविद् संघले जनाएको छ । यसले भुटान, फिलिपिन्स र सिंगपुरमा प्रजनन गर्ने पाइएको छ ।
सर्ट टेल्ड शियरवाटर (छोटो पुच्छ्रे समुद्री)
सप्तरीको हनुमाननगर कंकाललिनी नगरपालिकास्थित कोशी बाँध जलाशयमा पौडी खेलिरहेको अवस्थामा ३ मेमा नयाँ चरा देखियो । चराविद् अनिश तिम्सिनाले देखेको यो 'छोटो पुच्छ्रे समुद्री' नामक फिरन्ते चरा पुष्टि भयो ।
वर्षभरि एकै स्थानमा नबस्ने, कहिले कता, कहिले कता डुलिरहने चरालाई फिरन्ते चरा भनिन्छ । यसले प्रजनन गरेको वा बासस्थान नभेट्दासम्म यो नेपालमा फिरन्ते चराकै रूपमा रहने चराविद्हरू बताउँछन् ।
अंग्रेजीमा सर्ट टेल्ड शियरवाटर नाम रहेको यो चरा अस्ट्रेलिया, क्यानडा, कोस्टारिका, फिजी, जापान, भारत, न्युजिल्यान्ड, रुस, श्रीलंका र दक्षिण कोरियामा आवासीय रूपमा पाइन्छ ।
मलबर विस्लिङ थ्रस
नेपालमा पहिलोपटक ३० मेमा ‘मलबर विस्लिङ’ प्रजातिको चरा अभिलेख भयो । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित गोलपार्क नजिक लुम्बिनी केबलकार स्टेसन क्षेत्रमा उक्त चरा देखिएको हो ।
नेपाल पंक्षी संरक्षण संघका परियोजना अधिकृत देउबहादुर राना र अमृत नेपालीले चरा अवलोकन क्रममा अनौठो निलो रङको यो चरा देखेका हुन् । यसको निधारमा स्पष्ट 'भी' आकारको चम्किलो निलो थोप्लो, काँधमा उज्यालो निलो भाग र कालो चुच्चो हुन्छ । यो चरा भारतको पश्चिमी घाट र मध्य भारतमा मात्र पाइन्छ ।
साइबेरियन स्यान्ड प्लोभर (साइबेरियाली राजपुत्रिका)
भक्तपुरको मध्यपुर थिमि मनोहरा फाँटमा 'साइबेरियन स्यान्ड प्लोभर' नामक नयाँ चरा भेटियो, २० जुनमा । उक्त चरा कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेसहितको टोलीले फेला पारेको थियो ।
यो चराको नेपाली नाम साइबेरियाली राजपुत्रिका राखिएको छ । यो चरा साइबेरिया, मंगोलिया, फिनल्यान्ड, ताइवान, तिब्बत, भारत, जापान, कोरिया, मलेसिया, पपुआ न्युगिनी, अफगानिस्तान, ताइवान, तिब्बत, भुटान र अन्य क्षेत्रमा पाइन्छ । आईयूसीएन रेड लिस्टअनुसार यो चरा संकटापन्न सूचीमा पर्छ ।
रेड नेक्ड ग्रेब (रातोकण्ठे डुबुल्की)
कृषि तथा वन विश्वविद्यालय हेटौंडाका विद्यार्थीले पनि नेपालका लागि नयाँ चरा भेट्टाए । स्नातक अध्ययरत सुगम गुरागाईं र सुस्मिता चौधरीले सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा 'रातोकण्ठे डुबुल्की चरा' फेला पारेका हुन् ।
शैक्षिक भ्रमणका क्रममा १५ अक्टोबरमा उक्त चरा तालमा देखेपछि उनीहरुले फोटो/भिडियो खिचेका थिए । समुद्र सतहदेखि ६ सय ५६ मिटर उचाइमा रहेको तालमा यसअघि कहिल्यै नदेखेको नयाँ चरा देखेपछि उत्साहित हुँदै फोटो र भिडियो लिएको गुरागाईं बताउँछन् ।
नेपालमा डुबुल्की चराका प्रजातिको संख्या बढेर ४ पुगेको छ । विश्वमा डुबुल्की चराका २२ प्रजाति पाइन्छन् । यो फिरन्ते चरा हो । यो उत्तर अमेरिका, युरोप र उत्तरी एसियामा पाइन्छ । भारत, पाकिस्तान र बंगलादेशमा पनि यो चरा फिरन्तेका रूपमा अभिलेख भएको छ ।
नयाँ चराको अभिलेखसँगै कर्णाली प्रदेश पनि चरा अध्ययन अनुसन्धानको गन्तव्य बन्दै गरेको चराविद् हेमसागर बरालले बताए । '२०२५ मै विश्वमै दुर्लभ कालीकण्ठे सारसले बच्चा कोरलेको रेकर्ड हुम्लामै गरिएको थियो,' उनले भने, 'अहिले रातोकण्ठे डुबुल्की चरा देखिएको छ । यसले कर्णालीमा चरा पर्यटनको सम्भावना बढेर गएको छ ।'
अब नेपालमा चरा प्रजातिको कुल संख्या ९ सय ३ पुगेको छ ।
