भीमफेदीमा सुमो दुर्घटना, ६ जनाको मृत्यु

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो सडकबाट एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

पुस २०, २०८२

प्रताप विष्ट

Sumo accident in Bhimphedi, 6 people dead

हेटौंडा — भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डमा आइतबार सुमो गाडी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । चार जनाको दुर्घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक र घाइतेहरूको नाम खुल्न सकेको छैन । घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । गाडीमा ९ जना सवार रहेकामा ६ जनाको मृत्यु भएको स्थानीयवासी सुरेन्द्र थिकेले बताए । मृतकहरूको शव हेटौंडा ल्याइपुर्‍याइएको छ । 

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज १७७८ नम्बरको सुमो सडकबाट एक सय मिटर तल खोल्सामा खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उक्त स्थानमा यसअघि पनि  तीनवटा हलुका सवारी साधन दुर्घटना भएका थिए ।  

इलाका प्रहरी कार्यालय भीमफेदीबाट खटिएको प्रहरी टोलीले  सुमोमा सवार घाइते र मृतकको उद्धार गरेको थियो ।  मृतकहरू ६ जनाकाे नै परिचय नखुलेको  प्रहरीले जानकारी दिएको छ । तीन जना घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको अस्पताल स्रोतले बताएको छ । सुमो गाडी दुर्घटनास्थलमै रहेको छ ।

दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब तीन किलोमिटर उत्तर–पूर्वतर्फ रहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully