वैदेशिक रोजगार बोर्डद्वारा २५ करोडको तालिम दिने योजना स्थगित

बोर्डका अध्यक्षसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको अध्यक्षतामा श्रम मन्त्रालयमा बसेको बैठकले अगाडि बढाइएको तालिम सञ्चालन प्रक्रियालाई तत्काल स्थगित गर्ने निर्णय गरेको हो ।

पुस २०, २०८२

होम कार्की

Foreign Employment Board postpones plan to provide training worth Rs 250 million

What you should know

काठमाडौँ — वैदेशिक रोजगार बोर्डले २५ करोड रुपैयाँको सीपयुक्त तालिम दिने योजनालाई आइतबार स्थगित गर्ने निर्णय गरेको छ । बोर्ड सचिवालयले वार्षिक स्वीकृति कार्यक्रमअनुसार तालिम दिन सूचीकृत तालिम प्रदायक संस्थासँग प्रस्ताव मागेको थियो ।

बोर्डका अध्यक्षसमेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीको अध्यक्षतामा श्रम मन्त्रालयमा बसेको बैठकले अगाडि बढाइएको तालिम सञ्चालन प्रक्रियालाई तत्काल स्थगित गर्ने निर्णय गरेको हो ।

श्रममन्त्री भण्डारीले बोर्डबाट दिइएको तालिमको औचित्य र उपयोगितामा गम्भीर प्रश्न उठेकाले स्थगित गरेको बताए । ‘विगतका वर्षमा पनि बोर्डबाट तालिम दिइएको रहेछ । यहाँबाट दिएको तालिम सीपयुक्त र रोजगारीमा जोडिएको कुनै तथ्यांक छैन । त्यही ढर्राको तालिम यसपटक पनि दिन लागिएको रहेछ,’ उनले कान्तिपुरसँग भने,‘यसको लक्षित वर्ग पनि उपयुक्त नभएको छैन । यसले रोजगारमा जाने व्यक्तिहरुको सीपको विकास पनि गरेको पुष्टि भएको देखिएन ।’

उनले तालिम सञ्चालन विगतकै परिपाटीमा अगाडि नबढ्ने बताए । ‘पुरानै ढर्रामा तालिम जाँदैन । त्यो तालिम दिसकेका मान्छेहरु रोजगारीमा कहाँ जोडिए ? त्यसको एउटा पनि तथ्यांक छैन । लगानी पूरै खेर गएको छ । त्यसको के औचित्य भयो  त ?,’ उनले भने, ‘श्रमिकको पसिनाको पैसामा सबैको चासो हुन्छ । अहिले कोषको आम्दानी पनि घटेको अवस्था छ । बैंकबाट कोषमा आउने ब्याज पनि घटेको छ ।’

बोर्डले १४ वटा क्षेत्रमा ३ सय ६० घन्टा तालिम दिने योजना वनाएको थियो । गत आर्थिक वर्षमा दिइएको तालिमको विषयमासमेत छानबिन गर्ने उनले बताए । ‘बोर्डमा पदाधिकारीबाट तालिम सञ्चालनको क्रममा हिनामिना भयो भन्ने विषय पनि उठेको छ । यसमा पनि छानबिन हुनेछ,’ उनले भने, ‘अख्तियारले पनि केही प्रश्नहरु उठाएको छ । मन्त्रालयको छानबिन समितिबाट सुझाव प्राप्त भएको छ । यसलाई पनि हेर्छौं ।’

होम कार्की दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully