नगर प्रमुख जनचन्द्र रोकायको सहजीकरणमा प्रमुख जिल्ला अधिकारी भीमराज कोइराला, डीएसपी रुकबहादुर खड्कासहित पीडित पक्षका तर्फबाट बेपत्ता युवकका परिवारका साथ त्रिपुरासुन्दरी नगरपालिका- ५ र ६ का वडाध्यक्ष वार्तामा सहभागी छन् ।
What you should know
डोल्पा — हिमाली जिल्ला डोल्पामा स्थानीय युवक बेपत्ता भएको विषयलाई लिएर सुरु भएको स्थानीय र प्रहरीबीचको विवाद समाधानका लागि दुुई पक्षबीच वार्ता सुरु भएको छ । त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित प्रहरी चौकी त्रिपुराकोटमा आइतबार दुई पक्षबीच वार्ता सुरु भएको हो ।
नगर प्रमुख जनचन्द्र रोकायको सहजीकरणमा प्रमुख जिल्ला अधिकारी भीमराज कोइराला, डीएसपी रुकबहादुर खड्कासहित पीडित पक्षका तर्फबाट बेपत्ता युवकका परिवारका साथ वडा नं ५ र ६ का वडाध्यक्ष नर झाँक्री र दीपेन्द्र चलाउने लगायत सहभागी छन् ।
वडा नं ५ का युवक बेपत्ता भएको घटनामा इलाका प्रहरी कार्यालय करोपगार्ड र सोही वडामा पर्ने ल्हाँ गाउँका स्थानीयबीच चर्केको विवाद दुई दिनदेखि जारी छ ।
सो घटनाको छानबिन गर्न प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी उपरीक्षक एसपी रामप्रसाद घर्तीमगरको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति खटाए पनि स्थानीयले शनिबार रातीदेखि नै यातायात बन्दको घोषणा गरेपछि छानबिन टोली जाजरकोटमै अड्किएको डीएसपी खड्काले बताए ।
स्थानीयले छानबिन टोलीको गाडी समेत आउन नदिने अडान राखेपछि सो टोली घटनास्थलसम्म पुग्न नपाएको हो ।
शुक्रबार साँझ ल्हाँ गाउँका ३४ वर्षीय स्थानीय युवा जुन रोकायलाई प्रहरीले चेकजाँचको बहानामा लखेटेपछि ती युवा भेरीमा हाम फालेर बेपत्ता भएको स्थानीयले आरोप लगाएका छन् ।
बेपत्ता रोकायको कि सास कि लाश चाहियो भन्दै सयौंको संख्यामा स्थानीय दुई दिनदेखि आन्दोलनमा छन् भने अनिश्चितकालीन यातायात बन्दको घोषणा गरिएको छ ।
रोकायलाई प्रहरी चौकीबाट करिब तीन किलोमिटर दुरीमा रहेको छेप्के पुलमा लागूऔषधको ओसारपसारको आशंकामा चेकजाँच गर्न खोजेपछि विवाद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले चेकजाँच गर्न नपाउँदै रोकाय आत्तिएर ठूलो भेरी नदीमा हाम फालेपछि बेपत्ता भएको प्रहरीको भनाइ छ ।
अहिले पनि रोकाय बेपत्ता छन् ।
एकाबिहानैदेखि स्थानीय र प्रहरी भएर भेरी नदीमा खोजी गरे पनि पत्ता लाग्न नसकेपछि टोली फर्किएको बताइएको छ ।
घटनापछि निष्पक्ष छानबिन गरी पीडितलाई न्याय दिन प्रहरी प्रशासन सदैव तयार रहेको प्रमुख जिल्ला अधिकारी कोइरालाले बताए ।
अहिले घटनास्थल र वार्तास्थलमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यातायात बन्दको घोषणापछि कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री तथा डोल्पा (क) का प्रदेश सभा सदस्य शेरबहादुर बुढा पनि आफ्नै गृहजिल्लामा प्रवेश गर्न नपाएर जाजरकोटमै अड्किएका छन् ।
त्यसैगरी अनिश्चितकालीन यातायात बन्दको घोषणा पछि काम विशेषले डोल्पा पुगेकी कर्णाली प्रदेश सरकारका जलस्रोत तथा विकास मन्त्री विजया बुढा पनि डोल्पाबाट फर्किन सकेकी छैनन् ।
