नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
काठमाडौँ — सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याएको अभियोगमा बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपकविक्रम शाहसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माण कार्यको ठेक्का प्रक्रियामा सार्वजनिक खरिदसम्बन्धी प्रचलित कानुनको उल्लङ्घन गरिएको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । ठेक्का प्रक्रियामा लक्षित बोलपत्रदातालाई फाइदा पुर्याउने उद्देश्यले योग्यता सर्त तथा मूल्याङ्कन मापदण्ड मनपरी रूपमा परिवर्तन गरी बढी कबोल गर्ने बोलपत्रदातालाई स्वीकृत गरिएको आरोप छ ।
यस कार्यबाट भ्रष्टाचार गरी सार्वजनिक सम्पत्तिमा हानि–नोक्सानी पुर्याइएको निष्कर्षसहित अख्तियारले तत्कालीन नगर प्रमुख शाहसहित अन्य कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूलाई प्रतिवादी बनाएको हो ।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसुर ठहर गर्दै बिगो ३ करोड २७ लाख ७८ हजार १७७ रुपैयाँ ६५ पैसा कायम गरी बिगोबमोजिम कैद र जरिवानाको मागदाबी गरेको आयोगले जनाएको छ । साथै, प्रमुख प्रतिवादी शाहलाई ऐनको दफा २४ बमोजिम थप सजायको मागदाबी पनि गरिएको छ।
