आफ्नैसँगै सुरक्षित छैनन् बालिका

प्रहरीको तथ्यांकअनुसार पछिल्ला तीन वर्षमा दुई हजारभन्दा बढी बालिका यौन हिंसा तथा बलात्कारमा परेका छन्, जसमा अधिकांश आफन्त या चिनेजानेका व्यक्ति संलग्न छन् ।

पुस १९, २०८२

आरती पौडेल

Girls are not safe with themselves.

What you should know

काठमाडौँ — मोरङ लेटाङ–२ की १२ वर्षीया अंशु गौतम २०८२ असोज २१ मा साथीहरूसँग पिङ खेल्न निस्केकी थिइन । तर उनी साँझ अबेरसम्म घर फर्किनन्।

प्रहरीले खोजी त सुरु गर्‍यो तर उनको कुनै सुराक फेला परेन ।१८ दिनसम्म कुनै खबर आएन । कात्तिक ७ मा लेटाङ–२ बेलबारी चिसाङ साझेदारी वन क्षेत्रमा अंशुको शव भेटियो ।

अनुसन्धानपछि थाहा भयो, ५९ वर्षीय छिमेकी पदम अधिकारीले घाँस काट्न सहयोग मागेर अंशुलाई जंगल लगेर बलात्कार गरी हत्या गरेका रहेछन् । कलिला सपना पूरा गर्न नपाउँदै अंशु हिंसाको सिकार मात्रै बनिनन्, ज्यान नै गुमाइन् ।

  ०००

धनुषाकी १४ वर्षीया गंगा (नाम परिवर्तन) परिवारसँग बस्दै आएकी थिइन्। नजिकको वर्कसपमा काम गर्ने २२ वर्षीय युवकले उनलाई बारम्बार जिस्काउने, अश्लील संकेत दिने र असहज व्यवहार देखाउने गर्थे । चिनजानकै व्यक्ति भएकाले उनले सुरुवातमा सामान्य ठट्टा ठानिन्  ।

एक साँझ, चटपट खान पसलतर्फ गएकी उनलाई ती युवक र उनका साथीले जबरजस्ती कोठामा लगे । अनि प्रतिकार गर्दागर्दै  बलात्कार गरे । खोजीमा निस्किएका आमाबुबाले त्यो रात छोरी भेटेनन् । भोलिपल्ट स्थानीय समुदाय मिलेर खोज्दा उनी आरोपितको कोठामा अत्यन्त कमजोर र शिथिल अवस्थामा उनी भेटिइन् ।

प्रहरी अनुसन्धानपछि आरोपित पक्राउ परे । पीडित बालिका अहिले बालबालिका हेरचाह केन्द्रमा संरक्षणमा छिन् ।

०००

बर्दिया नगरपालिका–६ की ७ वर्षीया बालिका ८ महिनाअघि साँझ घरबाट केहीपर एक्लै खेलिरहेकी थिइन् । ज्यामी काम गरेर घर धानिरहेका बाबु छोरी त भेटे तर अचेत अवस्थामा । यो घटनामा चिनजानकै छिमेकी १७ र १२ वर्षका दुई बालक संलग्न रहेछन् । उनीहरूले बालिकालाई जबरजस्ती झाडीमा लगे, मुख थुनेर बलात्कार गरे ।

पीडित बालिका अहिले काठमाडौंको बाल संरक्षण गृहमा छिन् । १७ वर्षीय पीडक हेटौँडा सुधार गृहमा छन्, १२ वर्षीय बालक भने आफ्नै घरमा । परिवारले स्थानीय राजनीतिक संरक्षणका कारण दुवै पीडकलाई उपयुक्त र न्यायसङ्गत कारबाही नभएको आरोप लगाइरहेका छन् ।

०००

सिन्धुलीकी एक १७ वर्षीया बालिका बाबुआमा दुवैले दोस्रो बिहे गरेपछि दुई वर्षको उमेरदेखि मामा घर बस्दै आएकी थिइन् । आर्थिक अवस्था निकै कमजोर भएकाले कक्षा ८ पछि उनको पढाइ छुट्यो । बालिकाको दाइको मानसिक स्वास्थ्य बिग्रियो । दाइको उपचार गर्ने खर्च जुटाउन उनले दुधौली बजारको गेस्टहाउसमा ८ हजार मासिक तलबमा काम थालिन् ।

गेस्टहाउसमा आइरहन्थे दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी । एक दिन बालिकाले यिनै मेयरसँग आफ्नो अवस्थाबारे बुझाएर सहयोगको आशा सुनाइन् । वैशाख तेस्रो साताको कुरा हो ।

अधिकारीले पीडा सुनेपछि सहयोगको आश्वासन त दिए तर उनको नाजुक अवस्थाको फाइदा उठाउँदै एक रात पटक-पटक बलात्कार गरे । अनि गर्भ रोक्न औषधि किनेर खानु भनेर हातमा पैसा थमाइदिए । उनले भनेअनुसार औषधि त खाइन् तर पनि उनको महिनावारी रोकियो । वाकवाकी र खान मन नलाग्ने लक्षण देखिएपछि उनले जागिर छोडिन् । एक दिन उनले काठमाडौंमा ज्यामी काम गर्ने आमालाई सबै भनिन् ।

आमाको सल्लाहअनुसार काठमाडौं आइन् । अस्पताल पुगेर स्वास्थ्य परीक्षण गर्दा गर्भ रहेको पुष्टि भयो । कमजोर आर्थिक अवस्था भएकाले गर्भपतनका लागि मागिएको २५ हजार रुपैयाँ परिवारले जुटाउन सकेन । पछि एक गैरसरकारी संस्थाले बालिकालाई संरक्षणमा राख्यो र उनले गत फागुनमा प्रसूतिगृहमा बच्चा जन्माइन् । यो घटना अहिले कानुनी प्रक्रियामा छ । प्रहरीले मेयर अधिकारी फरार रहेको र खोजी जारी रहेको जनाएको छ ।

०००

माथि उल्लिखित प्रतिनिधि घटना मात्रै हुन् । नेपाल प्रहरीको तथ्याकंले बलात्कार र यौन हिंसाको डरलाग्दो तथ्यांक देखाउँछ । जसले नेपालमा बालिकामाथि हुने यौन हिंसाको ग्राफ कसरी उक्लिँदै छ भनेर देखिन्छ । प्रहरीको तथ्यांकले अर्को डरलाग्दो कुरा पनि देखाउँछ । किनकि बलात्कार, यौन हिंसामा पर्नेमा कम उमेर समूहका बालिका धेरै देखिन्छन् ।

नेपाल प्रहरीका अनुसार २०७९/८० मा १७ सय ७२ जना बालिका यौन हिंसा तथा बलात्कारमा परेका थिए । जसमध्ये १० वर्ष मुनिका ३ सय ७५ जना छन् भने, ११ वर्षदेखि १६ वर्ष उमेर समूहका बालिका १ हजार ३ सय ९३ जना छन् । यस्तै २०८०/८१ मा २२ सय ५५ बालिका पीडित बने । जसमध्ये १० वर्षमुनिका बालिका ३ सय ७६ जना, ११ देखि १४ उमेर समूहका ७ सय ७७ जना, १५ देखि १६ उमेर समूहका ६ सय ७३ जना र १७ देखि १८ उमेर समूहका ४ सय २९ जना छन् ।

नेपाल प्रहरीका अनुसार ०८१/८२ मा मात्रै २ हजार ३५ जना बालिका यौन हिंसामा परेका छन् । जसमा १० वर्ष मुनिका ३ सय ५१ जना, ११ देखि १४ वर्ष उमेर समूहका ६ सय ९० जना, १५ देखि १६ वर्ष उमेर समूहका ६ सय १६ जना र १७ देखि १८ उमेर समूहका ३ सय ७८ जना छन् ।

विज्ञ र विशेषज्ञहरूको भनाइ

कैयौँ पीडित बालिका छन् जो जबरजस्ती करणीको सिकार भएर पनि डर, त्रासले बोल्न डराउँछन् । र परिवारमा आफ्नो पीडा सुनाएपछि इज्जत जाने डरले बाहिर ल्याउने आँट नगर्ने गरेका कारण भित्रभित्रै मानसिक स्वास्थ्य समस्याबाट लड्ने गरेको मनोचिकित्सकहरू बताउँछन् ।

महिलाहरू हिंसामा पर्नुले समाजमा निकै नकारात्मक असर पर्ने समाजशास्त्रीसम्झना वाग्ले भट्टराई बताउँछिन् । उनी भन्छिन्, 'बलात्कार, हिंसाजस्तो घटना घट्नुले समाजमा निकै नै नकारात्मक असर पर्छ । हामीले कल्पना गरेको समाज यस्तो होइन । निकै नै फरक हो,' उनी भन्छिन्, 'शिक्षा, प्रविधिको हरेक कुरामा पहुँच साथै सबै कुराले निकै अगाडि छौँ ।'

यसलाई दुई पाटोबाट हेर्न सकिने सम्झनाको भनाइ छ । उनी भन्छिन्,‘यसले अझै पनि हामी, हाम्रो समाज कहाँ रहेछ, मान्छेको सोच कस्तो रहेछ। समाजमा अझै पनि हाम्रा छोरी छोरीहरू सुरक्षित छैनन् भन्ने देखाउँछ ।'

त्यस्ता घटनाले समाज सोचेअनुसार सुरक्षित नरहेको देखाउने उनी बताउँछिन् । 'हामीले जति सोचेका छौँ त्यो अनुसार हाम्रो समाज सुरक्षित छैन । हामीले सुरक्षित समाजको निर्माण गर्नुपर्छ। चेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्छ भन्ने कुरा एक पाटोले जनाउँछ,' उनी थप्छिन्, 'अर्को पाटो कस्तो कस्तो अवस्थामा करणी हुँदो रहेछ । हामीले कसलाई विश्वास गर्ने, कसलाई नगर्ने, आफू कत्तिको बलियो बन्ने भन्ने सोचाइको विकास गर्छ ।'

उनी अहिले पीडितहरू कसैले गरेको हिंसा सहेर नबस्ने, खुलेर आफ्नो अधिकारको लागि बोल्ने भएर संख्यामा वृद्धि भएको देखिएको उनी बताउँछिन् । 'बालिकाहरू हिंसामा पहिला पनि धेरै नै पर्थे । पहिलाको तुलनामा अहिले मान्छेहरू सचेत पनि भएका हुन्,' उनले भनिन्, 'पहिला जति पनि घटना आउँथे त्यो पीडित व्यक्तिभन्दा बाहिर आउँदैनथ्यो। यस्ता किसिमका घटना बाहिर ल्याउँदा डराउने प्रवृत्ति थियो। मान्छेहरूले के भन्छन् भन्ने सोच्ने गर्थे, आफ्ना पीडा लुकाउने प्रवृत्ति थियो। जनचेतनाको कमी थियो ।'

अहिले प्रायः कमले आफ्ना पीडा लुकाउने गरेको उनी बताउँछिन्। महिला हिंसाजस्ता घटना लुकाएर राख्नु र बस्नु हुँदैन। बाहिर ल्याएन भने यस्ता घटना धेरै बढ्छन् भन्ने सोचको विकास भएकाले घटनाहरू बाहिर आएको उनको विश्लेषण छ ।

घर, परिवार, छिमेकी, चिनजानको मान्छेबाटै सबैभन्दा धेरै बलात्कार हुने नेपाल प्रहरीको तथ्यांकले देखाउछ । आफ्नैबाट पीडित भएका, विश्वास गरेको पात्रबाट पीडित भएका बालिकालाई आफ्नैले नराम्रो गरे भन्ने कुरा सधैँ मनमा खेल्ने गरेको विज्ञहरू बताउँछन् ।

बाल संरक्षक गीता केसी दर्नाल आफूले राखेका पीडित बालिकाहरू सुरुवाती दिनमा पुरुष देख्ने बित्तिकै तर्सने गरेको बताउँछिन् । उनी भन्छिन्, 'पीडित बालिकाहरू आएको केही समयसम्म कुनै केटा मान्छे देख्दा पनि तर्सने गरेका धेरै घटनाहरू छन्।'

आफूसँग भएका पीडित बालिकामध्ये उमेर अनुसारको पीडा आँखामा झल्कने गरेको उनले बताइन् । '४ वर्ष देखि १० वर्षका पीडित बालिकाहरूलाई के भयो भन्ने थाहा नभएको भएर केही समयमा खेल्ने, रमाउने गर्छन्,' उनले भनिन्, 'तर १० वर्षभन्दा माथिका बालिका भने आफूलाई के भएको भन्ने बुझ्ने भएर, समाज, आफ्नाबाटै पीडित महसुस गर्ने भएकाले यो पीडाले निकै दुःखी देखिन्छन् ।'

बालिकालाई आफूहरूले घटनाबाट बाहिरको जीवन जिउन निकै सहयोग गर्ने गरेको उनी बताउँछिन् । उनी भन्छिन्, 'उनीहरूलाई डाक्टरसँग परामर्श देखि लिएर विगत बिर्सनलाई निकै सहयोग गर्छौँ। तर जतिसुकै खुसी, सुखी जीवन बिताए पनि कुनै न कुनै समयमा आफ्नो पीडा सम्झेर दुःखी भने हुने गर्छन् ।'

समाजले हेर्ने दृष्टिकोण, र आफ्नै घर परिवारको व्यक्तिबाट, चिनजानको व्यक्तिबाट पीडित भएका बालिकामा झनै धेरै डर देखेको दर्नाल बताउँछिन्। भन्छिन्, 'आफ्नैबाट सुरक्षित भइन् भन्ने भएर विश्वासघात गरेजस्तो मनमा सधैँ खट्किने रहेछ,' उनले भनिन्, 'सानो नानीहरू जसलाई आफूलाई के भयो भन्ने थाहा छैन। भोलिका दिनमा समाज, परिवारका कारण थाहा पाए भने त्यसबेला उनीहरूको मानसपटलमा के गुज्रेला भन्ने निकै नै चिन्ता हुन्छ।'

समाजको संरचनाले गर्दा पनि पीडित बालिकाहरू कमजोर महसुस गर्ने गरेको उनको भनाइ छ । ‘अपराधीले अपराध गर्दा त्यसले सजाय पाउनुपर्छ तर जुन नानीहरू बिना कारण, निर्दोष पीडा सहनुपरेको छ। उनीहरूलाई समाजले इज्जतमा लगेर कुरा जोडेको हुन्छ । त्यसैले घटना घटेपछि समाजबाट बहिष्कारजस्तो महसुस गरेका हुन्।'

नेपाल प्रहरीका प्रवक्ता डीआइजी अबिनारायण काफ्लेका अनुसार बलात्कार साथै जबरजस्ती करणी बढ्नुमा प्रविधिको दुरुपयोग पनि एकहो । ‘सामाजिक सञ्जालहरूमा सजिलै साथी हुने, नजिक हुने चिनजानकैबाट त्यो सम्मको घटना घटेको देखिन्छ,' उनले भने । 

सबैभन्दा धेरै ११ देखि १४ वर्ष उमेर समूहका बालिका पीडित हुनुमा उनीहरूले सजिलै विश्वास गर्ने एक कारण रहेको उनी बताउँछन्। 'सजिलै विश्वास गरेर प्रलोभन र फकाइमा पर्ने उमेर भएकाले पनि ११ वर्ष उमेरदेखि १४ वर्ष उमेर समूहका बालिकाहरू धेरै बलात्कृत भएको भन्ने देखिन्छ,' उनले भने । 

पारिवारिक वातावरणको यसमा ठूलो भूमिका रहेकाले आफ्ना बच्चाहरू के गर्दै छन् भन्ने कुरामा अभिभावले विचार गर्नुपर्ने उनी सुझाउँछन् । तथ्यांकले पनि आफन्त, चिनजानका, नजिकका, सहयोगी बनेर आउने, मोबाइल हेर्न दिने, बेलाबेला निकै ख्याल गरेकोजस्तो व्यवहार गर्नेबाटै यस्ता घटना भएको देखिने उनले बताए ।

अधिवक्ता साथै नेपाल बार एसोसिएसनका उपाध्यक्ष अजय शंकर झा कानुनको बारेमा निकै कम ज्ञान भएका कारण पनि बलात्कारका घटना बढेको बताउँछन्। उनी भन्छन्, 'कानुन सबैलाई थाहा छ भनेर हामीले भन्छौँ। वास्तवमा कानुन कमलाई थाहा छ। यस्ता घटनाहरू हुन नदिन स्कुलको पाठ्यक्रमबाट सुरु गर्नुपर्छ ।'

बलात्कारका घटनामा उमेर अनुसार ऐनले फरक फरक सजाय तोकेको उनी बताउँछन्। 'कुनै घटनामा बलात्कार पनि भएको साथै निकै नै क्रूर तरिकाले हत्या गरेको छ भने घटनाको सबै अवस्था हेरेर त्यस्तो घटनामा दोषीलाई आजीवन कारावासको सजाय कानुनले व्यवस्था गरेको छ,' उनले भने ।

क्लिनिकल साइकोलोजिस्ट हशना श्रेष्ठ बालिकालाई त्यस्तो समयमा परिवार र समाजको माया निकै चाहिने बताउँछिन्। 'यस्तो घटनालाई आघात हुने घटना भन्छौँ। बालबालिकाको उमेर भनेको मस्तिष्क विकासदेखि उनीहरूको शारीरिक, भावनात्मक, मानसिक सबै कुरा विकास हुने समय हो,' उनले भनिन्, 'यो चरण उनीहरूको लागि भविष्यलाई कसरी हेर्ने, कसलाई विश्वास गर्ने वा नगर्ने, सम्बन्धलाई कसरी लिने धेरै विषय उनीहरूको लागि सिकाइको चरण हो।'

यस्ता घटनाले बालिकाको जीवनभरि नै असर गर्ने उनी बताउँछिन् । उनी भन्छिन्, 'आघातजन्य घटना घटेपछि बिर्सने भन्ने हुँदैन। त्यसको असर कम गर्न परिवारको, समाजको सहयोग आवश्यक रहन्छ। दोषीलाई कारबाही हुनुपर्‍यो,' उनले भनिन्, 'कोही आफ्नैबाट यस्तो अपराध भएको छ भने त्यसमा घटना लुकाउनुभएन। परिवारको अन्य सदस्यले यसमा स्ट्यान्ड लिनुपर्‍यो । परामर्शदेखि विभिन्न उपचारहरू बच्चालाई आवश्यक पर्छ।'

सामाजिक जीवनमा फर्कन घर परिवार र समाजको निकै ठूलो भूमिका रहने मनोचिकित्सक श्रेष्ठको भनाइ छ । 'परिवार र समाजको माया र सहयोगले नै बालिकालाई सामाजिक जीवनमा फर्कन सजिलो हुन्छ । नत्र भने उनीहरू उक्त घटनाले नै अड्किएर बसिरहन्छन्। मनमा डर, भयले सताउँछ,' उनले भनिन्, 'कुनै घटना घट्यो। तर त्यसमा परिवारको साथ, सपोर्ट पाउँछ कि पाउँदैन, समाजले कुन दृष्टिकोणबाट उनीहरूलाई हेरेको छ। त्यो कुरा पनि निकै महत्त्वपूर्ण छ।'

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully