रास्वपाको गण्डकीस्तरीय कार्यक्रममा कुलमान पक्ष अनुपस्थित

उज्यालो नेपाल पार्टीका गण्डकी संयोजक भन्छन्, 'केन्द्रबाट स्पष्ट निर्देशन छैन'

पुस १९, २०८२

दीपक परियार

The clan-based faction is absent from the Gandaki-level program of the Rashtriya Swayamsevak Sangh (RSS).

What you should know

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टीको गण्डकी प्रदेश समितिले शनिबार पोखरामा गण्डकी प्रदेशस्तरीय सदस्य भेटघाट तथा बृहत् पार्टी प्रवेश कार्यक्रम गर्‍यो । पोखरा प्रदर्शनी केन्द्रको डोममा आयोजित कार्यक्रममा कुलमान घिसिङ पक्षको उज्यालो नेपाल पार्टीका नेता-कार्यकर्ता भने सहभागी भएनन् ।

कार्यक्रममा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झालगायत नेता सहभागी थिए । कांग्रेस नेता कुमार खड्का बाजागाजासहित सयौं जना लिएर रास्वपा प्रवेश गरे । एमाले नेता एवं रूपाकोट रिसोर्टका सञ्चालक पुष्प अधिकारी, कांग्रेस निकट व्यवसायी मिलन थापा, सगरमाथामा हेलिकप्टरबाट उद्धार गरेर चर्चा कमाएका पाइलट मदन केसी लगायत रास्वपा प्रवेश गरे । पार्टी नै एकता गरेर आएको उज्यालो नेपाल पार्टीका नेता-कार्यकर्ता भने उपस्थित भएनन् । पार्टी पदाधिकारीले आसन ग्रहण गरेको स्थानमा नवप्रवेशीले स्थान पाए पनि उज्यालो नेपाल पार्टीका कोही थिएनन् ।

उज्यालो नेपाल पार्टीका गण्डकी प्रदेश संयोजक मनराज गुरुङले रास्वपाको कार्यक्रममा सहभागी हुनेबारे केन्द्रबाट स्पष्ट निर्देशन नआएकाले शनिबारको कार्यक्रममा उपस्थित नभएको बताए । ‘पार्टी एकीकरण भयो भन्ने आयो तर रास्वपाको कार्यक्रममा कसरी जोडिने भन्ने स्पष्ट निर्देशन आइसकेको छैन,’ उनले भने, ‘अहिले हामी संगठन विस्तारतिरै लागिरहेका छौं ।’

गण्डकीमा कास्की, तनहुँ र नवलपुरमा जिल्ला समिति गठन भइसकेको र स्याङ्जा, गोरखा र लमजुङमा घोषणाको तयारी गर्दै गर्दा पार्टी एकताको कुरा आएकाले अहिले रोकिएको उनले सुनाए । ‘रास्वपाको प्रदेश समितिबाट सहभागी हुनुपर्‍यो भनेर फोन आएको थियो र माथि बैठक चलिरहेको छ, के–कसरी सहभागी हुने भन्ने आएपछि सहभागी हुनुपर्ला भनेर गएनौं,’ उनले भने ।

१ सय ५१ सिट ल्याउँछौं : उपसभापति वाग्ले

कार्यक्रममा उपसभापति डा.स्वर्णिम वाग्लेले अबको राष्ट्रिय स्वतन्त्र पार्टीको लक्ष्य प्रतिनिधिसभामा १ सय ५१ सिट ल्याउनु रहेको बताए । उनले अबको १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको देश बनाउन अहिलेकै चुनावमा स्पष्ट बहुमत ल्याउनुपर्ने उल्लेख गरे ।

यो चानेचुने संकल्प नभएको बताउँदै उनले बालेन, कुलमानलगायत जोडिएपछि एक–दुई दिनभित्रै थारु समुदायको तप्का र दलितहरूको महाअभियान पनि जोडिन लागेको सुनाए । ‘५०/६० सिट लिएर आएर केही काम लाग्दो रहेनछ । च्याखे थाप्ने, एक–दुई जना औषत प्रतिभा भएका नेतालाई प्रधानमन्त्री बनाइदिने, सिंहदरबारमा फोटो झुण्ड्याइदिने बाहेक खासै तात्विक असर हुने रहेनछ,’ उनले भने, ‘पुनः एकपल्ट राजनीति मार्फत यो देशमा सम्भावना छ, यो देशको भविष्य छ, तमाम युवाहरूलाई यही देशमा बसेर गरिखाने वातावरण बनाउन हामी सक्छौं । सुशासनको जग छिटोछिटो बसाल्न सक्छौं । नेपालमै बसेर व्यवसाय गरेर कमाउFछु भन्ने यात्रामा बाधक रहेका ऐनहरूलाई एउटा हस्ताक्षरले पनि खारेज गर्न सक्ने हैसियतका लागि पनि हामीलाई स्पष्ट बहुमत चाहिएको छ ।’

कार्यक्रममा महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनीष झा, पार्टी प्रवेश गरेका कुमार खड्का, केन्द्रीय सदस्य शिव नेपाली, नेताहरू समीक्षा बास्कोटा, धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, गोकुल सापकोटा लगायतले बोलेका थिए ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully