बुद्धको दुर्घटनाग्रस्त विमानलाई क्रेनले तानेर बाहिर निकालिँदै

विमान दुर्घटना भएको क्षेत्र सम्याउने तथा मिलाउने काम सम्पन्न भइसकेको छ । अहिले दुर्घटनाग्रस्त विमानलाई क्रेनको सहयोगमा बाहिर निकाल्ने तयारी भइरहेको छ ।

पुस १९, २०८२

कान्तिपुर संवाददाता

Buddha's crashed plane being pulled out by crane

What you should know

झापा — भद्रपुर विमानस्थलमा ल्यान्ड गर्ने क्रममा शुक्रबार राति दुर्घटनाग्रस्त भएको बुद्ध एयरको विमानलाई दुर्घटनास्थलबाट बाहिर निकाल्ने काम तीव्र रूपमा भइरहेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा प्राविधिकसहित २५ जनाको टोली आवश्यक उपकरणसहित उद्धार तथा व्यवस्थापन कार्यमा खटिएको छ । उक्त टोलीमा बुद्ध एयरका प्राविधिकसमेत सहभागी छन् । उनीहरुले कडा सुरक्षाबीच काम गरिरहेका छन् । 

नागरिक उड्डयन कार्यालय चन्द्रगढी विमानस्थलका प्रमुख किशोर खत्रीका अनुसार दुर्घटना भएको क्षेत्र सम्याउने तथा मिलाउने काम सम्पन्न भइसकेको छ । ‘अब दुर्घटनाग्रस्त विमानलाई क्रेनको सहयोगमा बाहिर निकाल्ने तयारी भइरहेको छ,’ उनले भने ।

खत्रीले सम्भव भएसम्म आजै विमानलाई क्रेनमार्फत रनवेबाट पूर्व सारिने जानकारी दिए ।

शुक्रबार राति दुर्घटनाग्रस्त उक्त विमानमा चालक दलसहित ५३ जना यात्रु सवार थिए । दुर्घटनामा कुनै मानवीय क्षति नभए पनि विमानमा भने क्षति पुगेको छ ।  ‘विमानको क्षतिको विस्तृत विवरण आउन केही दिन लाग्न सक्छ,’ खत्रीले भने, 'अहिले नै एकिन गर्न गाह्रो छ ।’

दुर्घटनामा ७ जना घाइते भएका थिए । हाल सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

भद्रपुर नगरपालिका–१० बस्ने ४० वर्षीय सबिन जोगी, बिर्तामोड नगरपालिका–७ बस्ने २० वर्षीया प्रेसिषा अधिकारी, बिर्तामोड नगरपालिका–१ बस्ने ४२ वर्षीया सुमित्रा जोगी, दमक नगरपालिका–१ बस्ने २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४० वर्षीया मुना घतानी, उनकी १६ वर्षीया छोरी प्रिया घतानी र विमानका सह–पाइलट ललितपुर महानगरपालिका–४ बस्ने २४ वर्षीय सुशान्त श्रेष्ठ पनि घाइते भएका छन् । 

घाइतेको स्थानीय अस्पतालमा उपचार पछि डिस्चार्ज गरिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully