शुक्रबार राति बुद्ध एयरको जहाज अवतरणको क्रममा रन-वेबाट चिप्लिएर दुर्घटना भएको थियो ।
झापा — बुद्ध एयरको जहाज दुर्घटनामा परेपछि ठप्प रहेको भद्रपुर विमानस्थल पुनः सञ्चालनका लागि आवश्यक तयारी थालिएको छ ।
विमानस्थल प्रमुख किशोर कुमार खत्रीका अनुसार प्राविधिक टोलीसँग समन्वय गर्दै जहाज उडान-अवतरण खुला गर्ने विषयमा छलफल भइरहेको छ । `प्राविधिक टोलीसँग निरन्तर समन्वय भइरहेको छ । रनवेको उपलब्ध लम्बाइ यति मात्रै छ भन्ने जानकारी दिएर भए पनि विमानस्थल सञ्चालन गर्ने विकल्पबारे छलफल भइरहेको छ,´ उनले भने ।
हालसम्म दुर्घटनाग्रस्त जहाज भने घटनास्थलबाट हटाइएको छैन । शुक्रबार राति ८:२० तिर बुद्ध एयरको जहाज अवतरणको क्रममा रन-वेबाट चिप्लिएर दुर्घटना भएको थियो । काठमाडौं-भद्रपुर उडान ९०१ नम्बरको जहाज ओभर रनका कारण ग्रास एरियामा पुगेको थियो । जहाज काठमाडौंबाट ५१ यात्रु लिएर उडेको थियो ।
राति यहीँ बसेर शनिबार बिहान पहिलो उडानमा काठमाडौं फर्किने जहाजको तालिका थियो ।
