मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने जनाएको छ ।
What you should know
खजुरा — पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरोले जनजीवन प्रभावित बनेको छ । केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाक्लो हुस्सु र कुहिरोले तराई मधेशका अधिकांश स्थान प्रभावित भएका छन् । चिसोले बालबालिका, विद्यार्थी, मजदुर, गरिब, असहाह र ज्येष्ठ नागरिकलाई बढी समस्या भएको छ । चिसो बढेका ठाउँका स्थानीय घरबाहिर निस्कन सकेका छैनन् । बिहान खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका छन् । साँझपख पनि चिसो बढ्न थालेपछि बजार सम्साझैँ सुनसान हुन थालेका छन् ।
कठ्याङ्ग्रिँदो चिसोसँगै हुस्सु लाग्दा सवारीसाधन चलाउन पनि समस्या भएको सवारी चालक नेपालगन्ज १६ का रामप्रसाद थारुले बताए ।
भेरी अस्पतालका सूचना अधिकारी संकेत रिसालका अनुसार चिसोले दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी पनि बढेका छन् । हिजोआज अस्पतालमा सयभन्दा बढी निमोनिया र रुघाखोकीका बिरामी आउने गरेका छन् ।
तराईमा हुस्सुको प्रभाव देखिए पनि उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ । महाशाखाले आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।
