सशस्त्र प्रहरीको गोलीबाट रिक्सा मजदुरको मृत्यु

भारतीय सीमावर्ती बजारबाट फर्किने क्रममा सशस्त्र प्रहरीसँग विवाद हुँदा विजय साहमाथि गोली प्रहार भएको परिवारको दाबी छ। घटनाका विषयमा छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको छ।

पुस १८, २०८२

पर्वत पोर्तेल, अर्जुन सुवेदी

Rickshaw worker killed by armed police bullets

What you should know

सुनसरी, विराटनगर — सुनसरीको कोशी गाउँपालिका–१, पुरी टोलका ४५ वर्षीय विजय साहको जीविकोपार्जनको एक मात्र आधार थियो, सिटी रिक्सा । त्यही रिक्सा चलाएर उनी ६ जनाको परिवार पाल्थे । बुधबार मध्यराति सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको गोलीबाट उनी ढले । उनको मृत्युले परिवारमा शोक मात्रै थपेको छैन, घर चलाउने एक मात्र आधार नै खोसिएको छ ।

पुरी टोल भारतीय छोटी भन्सार लौकहीसँगै जोडिएको बस्ती हो । केही सय मिटर पार गर्दा भारतको बेलाह बजार पर्छ । खेती वा अन्य रोजगारी नहुँदा यो बस्तीका धेरैले रोजगारीका नाममा ‘भरिया’ बन्ने बाटो रोजेका छन् । उनीहरू सीमापारिबाट अरूको सामान बोकेर ल्याउँछन् । पाएको ज्यालामा जीविका चलाउँछन् । 

स्थानीयका अनुसार यो नाकाबाट राति ११ बजेपछि ‘लाइन’ खुल्ने गर्छ । त्यसपछि भरियाहरू भारतको बेलाह बजार पुग्छन् । चिनी, चकलेट, किराना सामान ल्याउँछन् । बिहानअघि नै व्यापारीलाई बुझाउँछन् । यही कामले पुरी टोलका धेरै श्रमिकको घरमा चुलो बलिरहेको छ । विजय पनि यही श्रेणीका श्रमिक थिए । ‘विजय गरिखाने मान्छे थिए, उनी व्यापारी होइन, भरिया मात्रै थिए,’ कोशी गाउँपालिका–१ का वडाध्यक्ष शोभितनारायण यादव भन्छन्, ‘परिवार पाल्न अरूको सामान वारपार गर्थे । अनाहकमा मारिनुपर्‍यो ।’ 

बुधबार राति करिब ११ बजे खाना खाएर विजय सिटी रिक्सामा बेलाह बजारतर्फ लागेका थिए । पहिलो चक्करमा सामान ल्याएर बुझाए । फेरि दोस्रो पटक बेलाहतर्फ हुइँकिए । फर्किने बेला ड्युटीमा रहेका सशस्त्र प्रहरीले उनलाई रोकेको परिवारको दाबी छ । ‘१२ बजेतिर उहाँले फोन गर्नुभयो,’ पत्नी गीताले रुँदै सम्झिइन्, ‘प्रहरीले पैसा मागिरहेको आवाज सुनिन्थ्यो । ५ सय मागिरहेको प्रस्टै बुझिन्थ्यो । गाडी साइड लगाउन भनिरहेको थियो ।’

अचानक फोनमा ‘ड्यांग’ गरेको आवाज आयो । ‘गोली चलेको आवाज थियो,’ गीता भन्छिन्, ‘त्यसपछि उहाँको आवाज आएन ।’ घटनास्थल विजयको घरबाट करिब ३ सय मिटर मात्रै टाढा थियो । फोन काटिएपछि गीता गाउँलेसहित विजयलाई खोज्न निस्किइन् । रिक्साको छेउमा विजय छातीमा गोली लागेको अवस्थामा थिए । उनीहरू पुग्दा विजयको मृत्यु भइसकेको थियो । त्यो क्षणले गीता मात्र होइन, पूरै बस्ती स्तब्ध भयो ।

प्र १–०२–००३ ३३१७ नम्बरको सिटी रिक्सामा ७ बोरा चिनी, २ कार्टुन चकलेट र अन्य सरसामान थिए । विजयले कसको सामान बोकेका थिए भन्ने खुलेको छैन । सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे भन्छन्, ‘सतही रूपमा हेर्दा विजय भरिया मात्रै भएको देखिन्छ । कसको सामान थियो भन्नेबारे अनुसन्धान भइरहेको छ ।’

तर स्थानीयको प्रश्न फरक छ, भरिया भए पनि ज्यान जानुपर्ने अपराध के थियो ? स्थानीयका अनुसार राति ११ देखि १ बजेसम्म यही नाकाबाट तस्करीको ‘लाइन’ खुल्ने गर्छ । त्यस अवधिमा भरियाहरूले इटहरी, इनरुवा आसपासका व्यापारीका सामान ओसारपसार गर्छन् । ‘हरेक चक्करमा ५ सय रुपैयाँ ड्युटीमा रहेका प्रहरीलाई बुझाउनुपर्छ,’ एक स्थानीय भन्छन्, ‘पैसा दिन आनाकानी भयो भने विवाद हुन्छ । यसअघि कुटपिट हुन्थ्यो, यो पटक गोली नै चल्यो ।’ 

विजयको मृत्युको खबर फैलिनासाथ लौकही बजार बिहीबार बिहानैदेखि तनावग्रस्त बन्यो । आक्रोशित स्थानीयले शव सडकमा राखेर पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरे । सशस्त्र प्रहरीको बिट र बीओपीमा तोडफोड तथा आगजनी भयो । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो । 

साह सामान लिएर भारतबाट फर्किइरहँदा बुधबार राति सवा १ बजेतिर कोशी गाउँपालिका–१ को भित्री सडकखण्डको पुरी टोलमा सशस्त्र प्रहरीसँग जम्काभेट भएको र लेनदेन विवाद भएको स्थानीयको दाबी छ । पहिले दिँदै आएको भन्दा बढी पैसा मागेपछि भएको विवाद बढ्दा सशस्त्रले चलाएको गोली साहको छातीमा लागेको स्थानीय रघुनन्दन यादव दाबी गर्छन् । 

तनाव साम्य पार्न जिल्ला प्रशासन कार्यालय इनरुवामा सर्वपक्षीय बैठक बस्यो । र, उक्त बैठकले पाँचबुँदे सहमति गरेको छ । सहमतिअनुसार सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम न्यौपानेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि छन् । प्रतिवेदन बुझाउन समितिलाई सात दिनको समय तोकिएको छ । सहमतिकै आधारमा शव पोस्टमार्टमका लागि बुझाएर परिवारले दाहसंस्कार गरेको छ । 

सशस्त्र प्रहरी बल नम्बर १ बराह वाहिनीका प्रमुख डीआईजी कुमार न्यौपानेले तस्करीमा संलग्न अज्ञात समूहले पहिला गोली चलाएको दाबी गरे । ‘दुई अटो र एउटा सिटी रिक्सा रोकेका थियौं,’ डीआईजी न्यौपाने भन्छन्, ‘अटोबाट ओर्लिएर गोली चलाइयो । बाध्य भएर जवाफी कारबाही गर्दा विजयको मृत्यु भयो ।’ तर घटनास्थलबाट तस्कर पक्षको गोलीको खोका भेटिएको छैन । भेटिएका दुई वटा खोका सशस्त्र प्रहरीले चलाएको गोलीका हुन् भन्ने पुष्टि प्रशासनले गरेको छ । यही विरोधाभासले सशस्त्र प्रहरीको दाबीमाथि प्रश्न उठेको छ ।

मृतक परिवार, स्थानीय जनप्रतिनिधि र सुरक्षा अधिकारीबीच जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले मृतक परिवारलाई तत्काल एक लाख रुपैयाँ किरिया खर्च उपलब्ध गराएर घटना छानबिनका लागि समिति गठन गर्ने सहमति भएसँगै अवस्था सामान्य बनेको थियो । 

सहमतिपछि अवस्था सामान्य बने पनि स्थानीयहरूले सशस्त्र प्रहरीको भूमिकामाथि छानबिन गर्नुपर्ने माग गरेका छन् । स्थानीयको मागअनुसार सशस्त्रको भूमिकामाथि प्रशासनले छनबिन गर्ने प्रतिबद्धता जनाएको छ । लापरबाही ठहर भए क्षतिपूर्ति, मृतककी पत्नीलाई रोजगारीमा सहजीकरण र छोराले सशस्त्र प्रहरीमा भर्ना हुन चाहे सहयोग गर्ने सहमति पनि भएको छ । यो घटनाले सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीमाथि शुद्धीकरण हुनुपर्ने आवश्यकता औंल्याएको प्रमुख जिल्ला अधिकारी घिमिरेको भनाइ छ । प्रहरीले बल प्रयोग गर्ने सिद्धान्तविपरीत छातीमा गोली प्रहार भएको पाइएपछि गम्भीर अनुसन्धान हुने उनले जानकारी दिए । 

स्थानीयले दाबी गरेजस्तो ‘लेनदेन’ विवादका विषयमा पनि छानबिन हुने सुनसरीका प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए । उनले गोली चलाउने प्रहरीसहित त्यहाँ रहेको सशस्त्र प्रहरी युनिटलाई फिर्ता बोलाउन आग्रह गरेको समेत जानकारी दिए । ‘घटनापछि सशस्त्र प्रहरीको युनिटलाई नै फिर्ता बोलाउन बराह वाहिनी पकलीका डीआईजी कुमार न्यौपानेलाई भनिसकेको छु,’ उनले भने ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

अर्जुन

Link copied successfully