सुर्खेतको बुलबुले तालमा देखिएको रातोकण्ठे डुबुल्की चरा नेपालका लागि नयाँ
What you should know
काठमाडौँ — नेपालमा नयाँ चरा रातोकण्ठे डुबुल्की चरा फेला परेको छ । उक्त चरा सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा अभिलेख गरिएको छ । कृषि तथा वन विश्वविद्यालय हेटौंडामा स्नातक अध्ययरत सुगम गुरागाईं र सुस्मिता चौधरीले अभिलेख गरेकी हुन् ।
शैक्षिक भ्रमणका क्रममा पश्चिम नेपाल पुगेका उनीहरू तालमा नयाँ चरा देखपछि फोटो भिडियो खिचेका थिए । समुन्द्र सतहदेखि ६ सय ५६ मिटर उचाइमा रहेको तालमा यसअघि कहिल्यै नदेखेको नयाँ चरा देखेपछि उत्साहित हुदै फोटो र भिडियो लिएको विद्यार्थी गुरागाईंले बताए ।
यस चराका बारेमा थप अध्ययन र अनुसन्धान गर्न भिडियो र फोटो पन्छी संरक्षण संघ (बीसीएन)मा पठाइएको थियो । बीसीएनले चराका राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञ र विशेषज्ञसँग सल्लाह, सुझाव र परामर्श लिएर नेपालका लागि नयाँ भएको पुष्टि गरेको बीसीएनका अध्यक्ष विमल थापाले बताए ।
उक्त चराको तस्बिर विद्यार्थीद्वयले गत असोज २९ गते बिहान ११ बजेतिर देखेर खिचेका थिए । बीसीएनले उक्त चराको रूपरंग हेरेर नेपाली नाम रातोकण्ठे डुबुल्की चरा दिएको हो । चरा पहिचान गर्न समय लागेकाले ढिलो घोषणा गरिएको हो ।
अब नेपालमा चरा पाइने भनेर अभिलेख भएको चराको संख्या बढेर ९ सय ३ पुगेको छ । नेपालमा डुबुल्की चराका प्रजातिको संख्या बढेर ४ पुगेको छ । विश्वमा डुबुल्की चराका २२ प्रजाति पाइन्छन् । यो फिरन्ते चरा हो । कहिलेकाहीँ बाटो बिराएर देखिने चरालाई फिरन्ते भनिन्छ । यात्राका क्रममा रोकिएर बसेको पनि हुन सक्छ । आक्कलझुक्कल देखिने चरा फिरन्ते हुन् । मुलुकका लागि नयाँ चरा पहिचान गर्न सकेकोमा खुसी लागेको विद्यार्थी गुरागाईंले बताए ।
यो चरा उत्तर अमेरिका, युरोप र उत्तरी एसियामा पाइन्छ । भारत, पाकिस्तान र बंगलादेशमा पनि यो चरा फिरन्तेका रूपमा अभिलेख भएकोछ । नेपाल पन्छीविद् संघले पनि नेपालका लागि यो चरा नयाँ भएको पुष्टि गरेको छ ।
नयाँ चराको अभिलेखसँगै कर्णाली प्रदेश पनि चरा अध्ययन अनुसन्धानको गन्तव्य बन्दै गरेको चराविद हेमसागर बरालले बताए । '२०२५ मै विश्वमै दुर्लभ कालीकण्ठे सारसले बच्चा कोरलेको रेकर्ड हुम्लामै गरिएको थियो उनले भने अहिले फेरि रातोकण्ठे डुबुल्की चरा देखिएकोछ । यसले कर्णालीमा चरा पर्यटनको सम्भावना बढेर गएको छ,' उनले भने ।
