निर्वाचन आयोग स्रोतका अनुसार अनुपकुमार उपाध्यायसहितको टोली निर्वाचन आयोग पुगेको थियो ।
What you should know
काठमाडौँ — कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीभित्र विवाद देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणलगत्तै पार्टीभित्र असन्तुष्टि देखिएको हो । विवादकै बीचमा उज्यालो नेपाल पार्टी शुक्रबार समानुपातिक सूचीका बारेमा बुझ्न निर्वाचन आयोग पनि पुगेको थियो ।
निर्वाचन आयोग स्रोतका अनुसार उनेपा अध्यक्ष अनुपकुमार उपाध्यायसहितको टोली निर्वाचन आयोग पुगेको थियो । रास्वपासँग एकताको सहमतिपछि आयोगमा उनेपा पक्षका १८ जनाको नाम बन्दसूचीमा समावेश गरिएको थियो ।
‘हामीले समानुपातिकको बन्दसूची बुझाउन पचास हजारको रसिद काटेका थियौँ । बन्दसूची बुझाएका थिएनौँ,' उनेपा अध्यक्ष उपाध्यायले भने ।
अहिले आएर बन्दसूची बुझाउन मिल्छ कि मिल्दैन भनि उनीहरुले आयोगमा सोधेका थिए । तर निर्वाचन आयोगले बन्दसूची बुझाउने मिति सकिएको र निर्वाचन आयोग त्योभन्दा एक कदम अघि बढेकाले अब नमिल्ने जवाफ दिएपछि उनीहरु फर्केका थिए ।
‘हामीले आयोग एक कदम अगाडि बढेकाले अहिले मिल्दैन भन्यौं । विद्यमान कानुन अनुसार तपाईंहरुको बन्दसूची अहिले लिन मिल्दैन भनेर जवाफ दियौँ,’ आयोग स्रोतले भन्यो, ‘उहाँहरु त्यसपछि फर्कनुभयो । ’
कान्तिपुरसँग कुरा गर्दै महेन्द्र लावतीले उज्यालो नेपाल पार्टी कुनै दलसँग मर्ज नभएको भन्दै विभिन्न विकल्पबारे छलफल भइरहेको दाबी गरे । संरक्षक कुलमान घिसिङसहित हो कि तपाईंहरुले मात्र छलफल गरेको हो ? भन्ने प्रश्नको उत्तरमा उनले, ‘हामी संयुक्त रुपमा यी विषयमा छलफल गरिरहेका छौँ ।’ भन्ने जवाफ दिए । उनले आफूहरु निर्वाचन आयोग पुगेको पनि स्वीकार गरे । उनले निर्वाचन आयोग सोधपुछका लागि आफूहरु पुगेको दाबी उनले गरे ।
