रनवेमा चिप्लिएको जहाजकी यात्रु कमला दर्जी भन्छिन्, ‘कोही झ्याल फुटाएर, कोही इमरजेन्सी ढोकाबाट निस्किए’ 

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने,‘धन्न ठूलो दुर्घटना हुन पाएन ।’

पुस १८, २०८२

पर्वत पोर्तेल

Kamala Darji, a passenger on a plane that skidded off the runway, says, ”Some escaped by breaking windows, others through the emergency exit.”

विराटनगर — कतारबाट घर फर्किएकी झापाकी कमला दर्जी शुक्रबारै विमानस्थलतर्फ लागेकी थिइन् । लामो समयपछि घर, आफन्त र प्रियजनसँग भेट्ने खुसीले उनको मन उत्साहित थियो । तर, काठमाडौंबाट उडेको बुद्ध एयरको ९०१ नम्बरको जहाज राति साढे ९ बजेतिर झापाको भद्रपुर विमानस्थलमा अवतरणको तयारीमा थियो । 

तर, उनको खुसीको त्यो पल डरका क्षणमा बदलियो । जहाजले रनवे छोएर सामान्य अवतरणको सट्टा अचानक चिप्लिएर अलि परको घारीमा पुग्यो । कमलाको मुटुले पनि लगभग ठाउँ छाडेको थियो । ‘मन त खुसीले भरिएको थियो, तर केही क्षण मुटुले झन्डै ठाउँ छाड्यो’, कमलाले भावुक हुँदै भनिन्, ‘अझै पनि मुटुको गति तीव्र छ ।’ 

जहाजमा ५१ जना यात्रु थिए । सबै यात्रुहरुले आ–आफ्नै तरिकाले ज्यान जोगाउन सफल भए । कोही झ्याल फुटाएर बाहिर निस्किए, केहीले इमरजेन्सी ढोका खोले । कमलाले भनिन्, ‘हामी त घारीमा जहाज जोतिएपछि बल्ल निस्कियौं ।’ 

त्यो दृश्य यात्रुहरुको आँखामा कहिल्यै नभुलिने अनुभव बन्यो । 

घटनास्थलमा तत्काल प्रशासन र प्रहरी टोली सक्रिय भए । यात्रुहरुलाई सुरक्षित बाहिर निकालियो । घटना तत्काल नियन्त्रणमा भए पनि यात्रुहरुको मनमा भय र राहत दुवै मिसिएको अवस्था थियो । 

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले भने,‘धन्न ठूलो दुर्घटना हुन पाएन ।’ उनले यात्रुहरुलाई सकुशल उद्धार गर्नु नै ठूलो उपलब्धि भएको बताए । दुर्घटनाका कारण जहाजमा भने पूर्णरुपमा आंशिक रुपमा क्षति पुगेको छ ।

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully