‘चुनाव लड्ने, नलड्ने व्यक्तिको अधिकार हो, महत्वपूर्ण पदमा बसेपछि पदको दुरुपयोग गर्न चाहीँ हुँदैन, त्यो छुट छैन,’ मन्त्री खरेलले भने ।
What you should know
चितवन — सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेको विषय सरकारको औपचारिक जानकारीमा नआएको बताएका छन् ।
शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता खरेलले मन्त्री घिसिङ रास्वपामा प्रवेश गरेको औपचारिक जानकारी आएपछि सरकारको तर्फबाट लिनुपर्ने आवश्यक निर्णय लिइने बताए।
‘अहिलेसम्म पार्टी प्रवेशबारे औपचारिक जानकारी आएको छैन, औपचारिक जानकारी आएपछि सरकारले मन्त्रिपरिषद् बैठक बसेर निर्णय लिन्छ, स्वयं मन्त्री घिसिङले पनि निर्णय लिनुहुन्छ,’ मन्त्री खरेलले भने ।
मन्त्री खरेलले आफू अहिलेसम्म कुनै पार्टीमा प्रवेश नगरेको समेत स्पष्ट पारेका छन्। फागुन २१ गते हुने निर्वाचनमा पनि आफू अहिलेसम्म चुनाव लड्ने या नलड्ने भन्ने निर्णय नगरेको बताए। ‘म अहिले नागरिक सरकारको प्रवक्ता हुँ, अहिलेसम्म कुनै पनि पार्टीमा प्रवेश गरेको छैन, चुनाव लड्ने या नलड्ने केही पनि निर्णय गरेको छैन,’ मन्त्री खरेलले भने, ‘सरकारको प्राथमिकता चुनाव गराउनु हो, सबै पार्टीको कार्यालय गएर चुनाव गर्ने वातावरण बनाउँदै छौं, आजसम्म कुनै पार्टीमा जाने निर्णय गरेको छैन ।’
मन्त्री खरेलले सबै नेपाली नागरिकलाई चुनाव लड्ने अधिकार रहेको भन्दै सरकारका मन्त्रीले पनि चुनाव लड्न सक्ने बताए। तर पदको दुरुपयोग भने गर्न नहुने स्पष्ट पारे। ‘चुनाव लड्ने, नलड्ने व्यक्तिको अधिकार हो, महत्वपूर्ण पदमा बसेपछि पदको दुरुपयोग गर्न चाहीँ हुँदैन, त्यो छुट छैन,’ मन्त्री खरेलले भने ।
जेन–जी आन्दोलनको जगमा बनेको नागरिक सरकारको मुख्य कार्यभार नै निर्वाचन रहेको भन्दै उनले सरकारले निर्वाचनको वातावरण बनाइसकेको बताए।
उनले निर्वाचन आयोगले द्रुत गतिमा गरेको काम, समानुपातिक निर्वाचन प्रणालीमा प्रमुखसहितका ६० भन्दा बढी दलले बन्दसूची पेश गर्नु, सुरक्षा निकायको मनोबल बढ्नु, पर्याप्त बजेट विनियोजन हुनुनै निर्वाचन हुने मुख्य आधार रहेको बताए।
‘दलहरुले चुनावी प्रचार गर्न थालिसके, प्रत्यक्षतर्फ कसलाई टिकट दिने नदिने तयारी थालेका छन्, सञ्चारमाध्यममा प्रश्नदेखि जवाफसम्म चुनाव केन्द्रीत छ, फागुन २१ मा निष्पक्ष, धाँधलीरहित जसरी पनि निर्वाचन हुन्छ, कुनै दुविधा छैन,’ मन्त्री खरेलले भने ।
