आफूलाई ‘राष्ट्रिय स्तर’ को दाबी गर्दै सरकारी बोलपत्र (टेन्डर) सूचना प्रकाशन गरेपछि कपिलवस्तुको बुद्ध दर्पण राष्ट्रिय दैनिक र भैरहवाको गौतमबुद्ध सन्देश दैनिक कारबाहीमा परेका हुन् ।
What you should know
काठमाडौँ — विज्ञापन बोर्डले लुम्बिनी प्रदेशका दुई दैनिक पत्रिकालाई वर्गीकरणको हैसियत दुरुपयोग गरेको भन्दै कारबाही गरेको छ ।
आफूलाई ‘राष्ट्रिय स्तर’ को दाबी गर्दै सरकारी बोलपत्र (टेन्डर) सूचना प्रकाशन गरेपछि कपिलवस्तुको बुद्ध दर्पण राष्ट्रिय दैनिक र भैरहवाको गौतमबुद्ध सन्देश दैनिक कारबाहीमा परेका हुन् ।
बोर्डका अनुसार बुद्ध दर्पण प्रदेशस्तरमा वर्गीकृत पत्रिका हो भने गौतमबुद्ध सन्देश वर्गीकरणमै सूचीकृत छैन । दुवै पत्रिकाले २०८१ भदौ २ देखि असोज ९ गतेसम्म विभिन्न सरकारी निकायका बोलपत्र सूचनाहरू छापेका थिए ।
सार्वजनिक खरिद ऐन, २०६३ को दफा १४ अनुसार राष्ट्रिय स्तरको बोलपत्र राष्ट्रिय स्तरकै पत्रिकामा छाप्नुपर्ने प्रावधान छ । २०८१ असोज ६ गते बोर्डमा दर्ता भएको उजुरीमाथि छानबिन गरी २०८२ मंसिर ३ गतेको बोर्ड बैठकले उक्त निर्णय गरेको हो ।
कुन पत्रिकालाई के कारबाही ?
बोर्डले दुवै पत्रिकालाई फरक-फरक प्रकृतिको प्रतिबन्ध लगाएको छ । गौतमबुद्ध सन्देश दैनिकलाई आगामी पुस १० देखि माघ ९ गतेसम्म (३० दिन) कुनै पनि विज्ञापन वा सूचना प्रकाशन गर्न रोक लगाइएको छ । उक्त अवधिमा बोर्डमा पत्रिका नवीकरण गर्ने प्रक्रियासमेत स्थगित रहनेछ ।
त्यस्तै, बुद्ध दर्पण राष्ट्रिय दैनिकलाई २०८३ असार मसान्तसम्म लोक कल्याणकारी विज्ञापन उपलब्ध नगराउने निर्णय भएको छ । साथै, यो अवधिभर पत्रिकाको नवीकरणसमेत रोक्का गरिएको छ ।
बोर्डले वर्गीकरणको हैसियतभन्दा बाहिर गएर सूचना छाप्नु कानुनविपरीत मात्र नभई सरकारी सूचनाको विश्वसनीयतामासमेत गम्भीर असर पुग्ने निष्कर्ष निकालेको छ । 'नभएको हैसियत देखाएर विज्ञापन लिनु विज्ञापन चक्र र सार्वजनिक खरिद प्रक्रियाको उल्लंघन हो,' बोर्डका प्रवक्ता देवी पाण्डे(खत्री)द्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
