एक महिना समय थप, सोही समयभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारी
काठमाडौँ — गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ ।
बिहीबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
उनले प्रधानमन्त्री कार्कीले काम कहाँसम्म पुग्यो भन्नेबारे जिज्ञासा राख्नुभएको र आफूले जानकारी गराएको बताए । उनले एक महिना समय थप भएको र सोही समयभित्र प्रतिवेदन सरकारलाई बुझाउने तयारीमा आफू रहेको पनि जानकारी दिए ।
कांग्रेस नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएको पनि अध्यक्ष कार्कीको भनाइ छ ।
‘काम कहाँ पुग्यो भन्नेबारे छलफल भयो । एक महिना समय थप भएको छ । त्यस समयभित्रै बुझाउँछौँ । रमेश लेखकको बयान सकिइसक्यो । ओलीजीलाई बोलाउने क्रममा छौँ । आउनुभएन भने भोलिको कुरा भोलि नै हुन्छ । उहाँलाई हामी चिठी काट्दैछौँ,’ उनले भने ।
