‘घर भनेको ठ्याक्क बस्ने मात्रै, घामपानी छेक्ने मात्रै नभइ रितिरिवाज संस्कृति सबै झल्कने हुनु पर्छ। घरप्रति भावना नजोडिए कोही बस्दैन। आर्थिक उपार्जनको अवसर पनि त्यहाँ हुनु पर्यो,’ पुल्चाेक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत अर्जुन तिम्सिनाले भने।
What you should know
चितवन — बागमती प्रदेश सरकारले चेपाङ समुदायका लागि एकीकृत नमुना बस्ती बनाउन बजेट दिने भएपछि ती घरमा बस्नेहरु कसरी रमाउँछन् ? भन्ने उपाए खोज्ने जिम्मा पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले लिएका छन्।
माडी नगरपालिका–८ परुई खोला छेउका ५७ घरमध्ये ५० घर चेपाङ समुदायका छन्। खोलाको बाढी र नजिकै जंगलका जनावरको डर बिर्सेर उनीहरु सात वर्षदेखि यही बस्न बाध्य छन्। उनीहरुको कथा, व्यथा र चाहना बुझ्न व्यस्त छन्, त्रिभुवन विश्वविद्यालय ईन्जिनिरिङ अध्ययन संस्थानको पुल्चाेक इन्जिनियरिङ क्याम्पसमा अध्ययनरत विद्यार्थी ।
अर्जुन तिम्सिना स्नातक तहमा आर्किटेक पढ्दै गरेका आठौं सेमेस्टरका विद्यार्थी हुन्। आफ्ना २३ जना साथीहरुसहित परुई खोलामा भेटिएका अर्जुनले सुनाए, ‘घर भनेको ठ्याक्क बस्ने मात्रै, घामपानी छेक्ने मात्रै नभइ रितिरिवाज संस्कृति सबै झल्कने हुनु पर्छ। घरप्रति भावना जोडिनु पर्छ । भावना नजोडिए घरमा कोही बस्दैन। आर्थिक उपार्जनको अवसर पनि त्यहाँ हुनु पर्यो ।’
भावना पनि जोडियो आर्थिक उपार्जनका उपाए पनि भए, यी दुई कुराले मान्छे घरमा सुखीसाथ बस्न सक्ने अर्जुनले बताए। त्यसैले १० जना छात्रासहित ईन्जिनियरिङ पढ्दै गरेकाहरु समूह बनाएर स्थानीयसँग घरघरमा पुगेर अन्तर्वार्ता गर्दै छन्।
परुई खोलामा आउनुअघि त्यहाँका बासिन्दा कुसुमखोला भन्ने ठाउँमा बस्थें। जुन ठाउँ चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्छ। ‘अवैध बस्ती हो, यहाँ बस्न पाइदैन भन्दै बर्सेनि निकुञ्जले पत्र पठाउन थाल्यो। बाढी आएर पनि ठूलो क्षति गर्यो । त्यसैले त्यहाँ नबस्ने भनेर हामी लाखापाखा लाग्यौं। कोही कता कोही कता भए हामी यहाँ आयौं,’ परुई खोलामा बस्दै आएका कमल चेपाङले सुनाए।
कुसुमखोलामा १६० घर थिए। त्यहाँबाट निस्केर कोही प्याउली, कोही शिवद्वार, कोही राईडाँडा बसे। ५७ घर परुई खोला आडमा आए।
सुरुमा खोलानजिकै गएर बसेका थिए। दुई वर्षपछि खोला आडमा तटबन्ध बनाएर बस्ती अलि वर ल्याएको कमलले बताए। खोलाबाट केही सुरक्षित भए पनि बाढीको डर अझै कायमै रहेको उनले बताए।
बस्तीमा बिजुली बत्ती बलेको दुई वर्ष भयो । सुरुमा खोलाबाटै पानी खाने गरेका थिए। अहिले बस्तीमा खानेपानीका १२ वटा धारा र २ वटा ट्युबेल छन्। तर पक्की शौचालयको अभाव छ ।
पाँच वटा घरमा इँट्टा या ब्लकको गाह्रो भए पनि अरु घरहरु प्रायः काठले बारेका छन् । हावाहुरी र जाडोको समयमा यस्ता घरमा बस्न गाह्रै हुन्छ। यो बेला सिरेठो छिरेर सुत्न गाह्रो हुने गरेको स्थानीय अञ्जली चेपाङले सुनाइन्।
धादिङ स्यादुलनजिक घर थियो कमलको। गाउँमा पनि राम्रो खेतबारी थिएन। पाखो बारी थियो। २०५९ मा आएको बाढीपहिरोले पाखोबारी पनि बाँकी राखेन। बस्ने ठाउँ खोज्दै जंगलभित्र रहेको कुसुमखोला पुगेको कमलले सुनाए।
२०६१ सालदेखि लगभग १५ वर्ष कमलले त्यहाँ बिताए। तर कुसुमखोलामा चितवन निकुञ्जले बस्न नदिने भएपछि नगरपालिकाको पहलमा बस्ती सार्ने काम भयो। राईडाँडामा नमुना बस्ती नै तयार भयो। परुईमा सामान्य पूर्वाधारहरुको पनि अभाव थियो। ‘अहिले बिजुली, पानीको व्यवस्था भएको छ। अरु काम हुँदैछन्। बस्ती पनि बन्दै छ,’ माडी–८ का वडाध्यक्ष चन्द्रकुमारी बानियाँले भनिन्।
यहाँ बस्नेहरुको आफैले राम्रो आर्जन गर्न सक्ने कुनै राम्रो उपाय छैन। कसैले अधियाँ या ठेक्कामा खेत कमाएका छन् तर उब्जनी राम्रो छैन। निमेक मजदुरी नै गर्नेहरु धेरै छन्। ‘कमाइ नभएपछि राम्रो घर कसरी बनाउन सक्नु,’ कमलले भने । त्यसैले बस्ती निर्माणका लागि स्थानीय र प्रदेश सरकार समक्ष पटकपटक आग्रह गर्दै आएको उनले बताए।
तर परुईका लागि मात्रै भनेर कार्यक्रम आएन। माडीभरी बजेट बाँडेर काम गर्दा परुईमा अहिलेसम्म जम्मा पाँच वटा अलि सुरक्षित घर बने। अरु कच्ची नै रहे।
नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङ यो पटक परुईलाई नै भनेर बस्ती निर्माणको योजना परेको हुँदा ढुक्क हुन आग्रह गर्छन्। ‘मुख्य कुरा यहाँको जग्गाको लालपुर्जा छैन । पहिला त भूमि आयोगका मान्छेले खोला उकासको जग्गा नापजाँच हुँदैन भनेका थिए। पछि नापी त भयो । अरु काम असोजबाट हुन्छ भनेका थिए, आयोग बीचमा विघटन भएपछि अहिले अन्यौल नै छ,’ कमलले आशंका व्यक्त गरे।
तर चेपाङ संघका अध्यक्ष गोविन्दराम चेपाङले यो पटक बस्ती बनाउने काम पूरा गरेरै छाड्नेमा आफु लागि पर्ने प्रतिबद्धता दोहर्याए। बागमती प्रदेशको सहरी विकास तथा भवन कार्यालय मकवानपुर डिभिजनका इन्जिनियर अभिशेक बुढाथोकीले नमुना बस्तीमा बन्ने एउटा घरका लागि बढीमा चार लाख रुपैयाँ भुक्तानी हुने बताए।
परुई खोलामा घर बनाउने भएपछि त्यहाँ बस्दै आएका स्थानीयको रहनसहन दैनिकी अध्ययन गरी सुहाउँदो घरको नक्सा तयार गर्न विद्यार्थीहरु खटेको उनले बताए। ‘हामीले आर्टिकलहरु पढ्दा के थाहा पायौं भन्दा चेपाङहरुलाई भनेर सरकारले बस्ती र घर बनाए पनि उहाँहरु त्यहाँ बस्नु हुँदो रहेन छ। घर त बनाइयो तर घरसँग कसरी जोड्ने ? उहाँहरुले यसअघि कसरी कुन वातावरणमा बस्नु भएको थियो त्यो ख्याल राखेर घर र बस्तीको डिजाइन गर्नु पर्छ,’ विद्यार्थी अर्जुन तिम्सिनाले भने ।
चिउरीको रुख र चेपाङ बीच घनिष्ट सम्बन्ध रहेको भन्ने सुनेका उनले हावापानी र भूगोलले मिल्ने हो भने खोला छेउमा चिउरी रोप्न सुझाव दिने बताए।
कोही बिहान काममा जाने, कोही दिउँसो काममा जानेहरु बस्ने बस्ती भएका कारण पूर्वाधारहरु त्यही अनुसार राख्ने उनले बताए । बृद्धबृद्धा र केटाकेटी रमाउने ठाउँहरु बस्तीमा हुने छन् । ‘कसैले भैंसी पाल्छु भने यसका लागि त्यही अनुरुपको घर बनाउनु पर्छ। गोबर कहाँ कसरी राख्नेदेखि दुध बिक्रीको सम्भावना छ कि छैन त्यो पनि विश्लेषण गर्नुपर्ने हुन्छ । हामी यी सबै हिसाब गरेर घर र बस्तीको डिजाइन तयार गर्ने छौं,’ अर्जुनले भने ।
