उचित माग सबै सम्बोधन हुने प्रतिबद्धता जनाउँदै गृहमन्त्री अर्यालले अनसन तोड्न आग्रह गरेका छन् ।
काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले अनसनरत डा निकोलस भुसाललाई बुधबार राति वीर अस्पताल पुगेर भेट गरेका छन् ।
विराटनगरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीको बैठकबाट फर्किएलगत्तै मन्त्री अर्याल वीर अस्पताल पुगेका थिए ।उचित माग सबै सम्बोधन हुने प्रतिबद्धता जनाउँदै उनले भुसाललाई अनसन तोड्न आग्रह गरेका छन् ।
जेन–जी आन्दोलनका माग पूरा नभएको भन्दै भुसालले गत पुस ८ गतेदेखि माइतीघरमा अनसन सुरु गरेका थिए । जेन–जी आन्दोलन अधुरोमै टुंगिएकाले त्यो क्रान्तिलाई पूरा गर्न र जनतालाई बुझाउन अनसनमा बसेको उनको भनाइ थियो ।
जेन–जी आन्दोलनका क्रममा भएका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने, जेन–जी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्नुपर्ने, भ्रष्टाचारको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने उनको माग छ । त्यस्तै, संविधान संशोधन गरी विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिनुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, प्रदेश र राष्ट्रिय सभा खारेज तथा प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामासमेत उनको माग छ ।
स्वास्थ्यमा समस्या देखिन थालेपछि भुसाललाई माइतीघरबाट उपचारका लागि बुधबार वीर अस्पताल पुर्याइएको थियो ।
