चन्द्रनिगाहपुरमा पल्टिएको ग्यास बुलेट हटाउन किन लाग्यो २४ घण्टा ?

राजमार्गमा ग्यास बुलेट पल्टिए हटाउन सरकारी संयन्त्रसँगै छैन उपकरण, मंगलबार कम्पनीले नै ६ वटा क्रेन मगाएर ग्यास खाली गराएर बुलेट हटाइएको थियो 

पुस १६, २०८२

शिव पुरी

Why did it take 24 hours to remove the gas bullet that fell in Chandranigahapur?

What you should know

रौतहट — भारतबाट आएको ग्यास बुलेट मंगलबार बिहान पूर्व-पश्चिम राजमार्गको बीच सडकमा पल्टिँदा झन्डै २४ घण्टा सवारी आवागमन ठप्प बन्यो ।  यात्रु र चालक बीच सडकमै अलपत्र परे । 

केही सवारी साधन भने वैकल्पिक मार्गबाट गन्तव्यतर्फ लागे । चन्द्रपुर-४ स्थित लमाहा खण्डमा पल्टिएको ग्यास बुलेट बुधबार बिहान साढे ७ बजेपछि मात्र सडकबाट हटाइयो । 

राजमार्गमा पल्टिएको बुलेटले पूरै सडक ढाकेको थियो, जसले गर्दा सवारी साधन वारपार गर्न सकेनन् । यो राजमार्ग भएर दैनिक ५ हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । यही राजमार्ग भएर संघीय राजधानी काठमाडौंमा दैनिक उपभोग्य वस्तु जान्छ । तर राजमार्गमा ठूला मालवाहक सवारीसाधन पल्टिए तत्कालै पन्छाउने संयन्त्र भने सरकारी निकायसँग छैन । त्यो खालको तयारीसमेत गरेको पाइँदैन । 

बिहारको रक्सौलबाट नोबेल ग्यास कम्पनीका एलपीजी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको यूपी १७ एटी २११४ नम्बरको ट्यांकर  राजमार्गको बीच सडकमै पल्टिएको हो । २१ टन लोड भएको ट्यांकर पल्टिएको हो । ट्यांकर उठाएर बाटो खुलाउन ६ वटा क्रेन मगाएर पटक–पटक उचाल्न खोज्दा पनि नसकिएको प्रहरीले जनायो । 

ग्यास लिक भएपछि आगलागी हुने त्रासले घटनास्थलमा वारुणयन्त्र मगाएर पानी पटाइएको थियो । बुलेट हटाउन कम्पनीका प्राविधिकसमेत रातभर खटिए । तर, सडक खुलाउन सकेनन् । पछि प्राविधिकहरूले सबै ग्यास बाहिर निकालेपछि ट्यांकर उठाउन सकिएको हो । 

नजिकै हाइटेन्सन लाइन भएकाले पनि ग्यास निकाल्दा जोखिम हुन सक्ने पूर्वानुमान गरिएको थियो । स्थानीय प्रशासनले ऊर्जा मन्त्रालयलाई अनुरोध पनि गर्‍यो । तर मन्त्रालयबाट राष्ट्रिय प्रसारण लाइन बन्द गर्न नसकिने जवाफ आयो । त्यसपछि पाइप जोडेर अलि पर दक्षिणतर्फ पुर्‍याएर ग्यास निकालेर फालिएको थियो । 

झन्डै ८० प्रतिशत ग्यास निकालेर मध्य रातमा क्रेनले ट्यांकर उठाउन लाग्दा इन्जिन र ट्यांकीको भाग नै अलग भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए । ‘हामी बिहानदेखि बाटो खुलाउन लागिपरेका थियौं, तर बलियो र ठूलो क्रेन नभएकाले उठाउन सकेनौं,’ उनले भने, ‘यही कारण बाटो खुलाउन चौबीस घण्टा लागेको हो ।’ स्टेयरिङ फेल भई बुलेट पल्टिँदा ट्यांकर चालक भारतको कदोरा, जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् ।

Why did it take 24 hours to remove the gas bullet that fell in Chandranigahapur?जंगल क्षेत्रमा पल्टिएकाले ठूलो दुर्घटनाबाट जोगिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रूपा लाबुङले बताइन् । ‘ग्यास लिक भएपछि आगलागी हुने त्रास थियो,’ उनले भनिन्, ‘प्राविधिकहरूले पनि लिक भएको ग्यासका कारण ट्यांकर नै खाली गराउन सुझाव दिए, जसले गर्दा ठूलो दुर्घटना टर्‍यो, बस्ती आसपास ट्यांकर पल्टिएको भए दुर्घटना जोखिम हुन्थ्यो ।’ 

ग्यास लिक हुने डरले हटाउन मेसिन प्रयोग नगरिएको सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख अरुणकुमार लाल कर्णले बताए । 'जहाँ ग्यास बुलेट पल्टियो, त्यो हाम्रो नै कार्यक्षेत्र भित्र पर्छ,' उनले भने, 'मेसिन उपलब्ध गराएर हटाउन सकिने भए पनि ग्यास लिकेज भएको भन्दै प्रयोग गर्न दिइएन ।' क्रेन प्रयोग गर्न दिएको भए पल्टिएको बुलेटलाई सिधा पारेर सवारी साधन सञ्चालन गर्न सकिने उनको दाबी थियो । 

‘हाम्रो कार्यालयसँग त्यस्तो उपकरण छैन, तर हेटौंडास्थित हेभफ इक्युपमेन्ट डिभिजनबाट ल्याउन सकिन्थ्यो,’ उनले भने, ‘यस्तो उपकरण सडक डिभिजनहरूमा हुँदैन, हाम्रो कार्यालयले निर्माणको काम मात्र हेर्छ ।’ मंगलबार भने ग्यास बुलेट कम्पनीले नै क्रेन ल्याएको थियो ।  

रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुषालले पनि भएका उपकरण प्रयोग गरिएको दाबी गरे । ‘हामीसँग भएको उपकरणले भएन, ग्यास लिक भएकाले  तत्काल हटाउन समस्या भएको हो,’ उनले भने, ‘अन्यत्र पल्टिए पनि प्रयोग हुने उपकरण एउटै हो, लिक भएकाले हटाउन ढिला भएको हो ।’

Why did it take 24 hours to remove the gas bullet that fell in Chandranigahapur?

ग्यास बुलेट पल्टिँदा पन्छाउने हेभी इक्युपमेन्ट सडक विभागसँग नभएको पूर्वसचिव अर्जुनजंग थापा बताउँछन् । ‘ग्यास बुलेट हटाउने सरकारी संयन्त्रसँग उपकरण छैन, जब समस्या पर्छ, त्यसपछि मात्र हामीलाई चाहिने रैछ भन्ने हुन्छ,’ उनले भने,‘यसको पहिल्यै तयारी गर्दैनौं, जसले गर्दा अहिलेको जस्तो समस्या आइपर्ने गरेको छ ।’ 

अहिले सडक विभागसँग एक्स्काभेटर र क्रेन मात्र रहेको पूर्वसचिव थापाको भनाइ छ । ‘नागढुंगामा प्रहरीलाई हेभी इक्युपमेन्ट सडक विभागले किनेर दिएको छ, जसलाई तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘त्यहाँ पनि नागढुंगा ओरालोमा गाडी पल्टिने, बिग्रिएर समस्या भएपछि प्रहरीले सञ्चालन गर्नेगरी त्यो उपकरण राखिएको छ ।’ काठमाडौंमा कम्तीमा दुई वटा र बाहिर पनि दुईवटा यस्ता ठूला उपकरण राख्नुपर्ने उनको सुझाव छ । 

पल्टिएको ग्यास बुलेट हटाउने उपकरण सरकारी संयन्त्रसँग नभएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन् । ‘बुलेट हटाउने क्षमताको इक्युपमेन्ट हामीसँग छैन, मंगलबार रौतहटमा पल्टिएको बुलेट हटाउन ६ वटा क्रेन चाहियो,’ उनले भने, ‘त्यस्ता दुर्घटना कमै हुने हो, तर भोलिका दिनमा बुलेट उठाउने उपकरणको आवश्यकता महसुस भएको छ,त्यस्ता उपकरण चारवटा जति भए समस्या हुने छैन ।’ 

सवारी चाप बढी हुने ठाउँमा राख्न सकिए सहज हुने उनको भनाइ छ ।  यसको आवश्यकता महसुस भएकाले यसलाई छलफल गरेर केही निर्णय गर्न सकिने उनले सुनाए । 

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully