२४ घण्टादेखि ठप्प पूर्वपश्चिम राजमार्ग बल्ल खुल्यो 

ट्यांकर पल्टिएपछि ग्यास लिक हुन थालेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले राजमार्गको दुवैतर्फ सवारी आवागमन रोक लगाएपछि गन्तव्यमा हिँडेका सवार यात्रुहरुले २४ घण्टादेखि सास्ती भोगे ।

पुस १६, २०८२

शिव पुरी

East-West Highway, which was closed for 24 hours, finally reopens

What you should know

रौतहट — भारतबाट आएको ग्यास बुलेटको ट्यांकर बीच सडकमै पल्टिए पछि लाइफलाईनको रुपमा रहेको राष्ट्रिय राजमार्ग २४ घण्टादेखि ठप्प भएको छ ।

चन्द्रपुर ४ स्थित पूर्वपश्चिम राजमार्गको लमाहा खण्डमा मंलबार बिहान साढे ७ बजे पल्टिएको टंयाकर बुधबार बिहान साढे ७ बजे सडकबाट पन्छाएर सवारी सुचारु गरेको छ ।

दैनिक ५ हजार सवारी ओहोरदोहार गर्ने राजमार्ग ठप्प हुँदा हजारौं यात्रुहरुले दु:ख पाए । राज्य सयन्त्र कति फितलो छ भन्ने यो घट्नाले देखाएको छ । २४ घण्टादेखि ठप्प राजमार्ग बल्ल खुलेको ट्राफिक प्रहरी कार्यालय रौतहटले जानकारी दिएको छ । 

भारतको रक्सौलबाट नोबेल ग्यास कम्पनिका एलपीजी ग्यास बोकेर धनुषाको महेन्द्रनगरतर्फ जाँदै गरेको युपी १७ ए टी २११४ नम्बरको ट्यांकर मंगलबर बिहान राजमार्गको बीच सडकमै पल्टियो । २१ टन लोड भएको ट्यांकरबाट त्यसबेलादेखि ग्यास लिक हुन थाल्यो । 

सुरक्षाकर्मिले ट्यांकर उठाएर बाटो खुलाउन ६ वटा क्रेन मगायो । ग्यास लिक भए पछि आगलगी हुने त्रासले घट्नास्थलमा बारुणयन्त्र मगाएर पानी पटायो । क्रेनले पटक–पटक उचाल्न खोज्दा सकेन । ग्यास कम्पनीका प्राविधिकहरु समेत रातभरी खटिए । उपलब्धि शून्य भयो । प्राविधिकहरुले सबै ग्यास बाहिर निकालेपछि ट्यांकर हलुका हुन्छ र उठाउन सजिलो हन्छ भन्ने प्राविधिकले भने पछि त्यही अनुसार गरियो ।

तर ग्यास बाहिर निकाल्दा नजिकै रहेको हाइटेन्सन लाईन रहेकोले आगलगीको अत्यधिक सम्भावना हुने भन्दै रौतहटको स्थानीय प्रशासनले ऊर्जा मन्त्रालयलाई अनुरोध गर्‍यो । राष्ट्रिय प्रशारण लाइन भएकाले अहिले बन्द गर्न नसकिने जवाफ आएपछि पाइप लगाएर दक्षिणतर्फ ग्यास निकालेर फाले । झण्डै ८० प्रतिशत ग्यास निकालेर मध्य रातमा क्रेनले ट्यांकर उठाउन लाग्दा इन्जिन र ट्यांकीको भाग नै अलग भएको जिल्ला ट्राफिक प्रहरी निरीक्षक राजेन्द्र थापा मगरले जानकारी दिए ।

‘हामी बिहानदेखि बाटो खुलाउन लागी परेका थियौं । तर बलियो र ठूलो क्रेन नभएकाले उठाउन सकेनौं,’ उनले भने, ‘यही कारण बाटो खुलाउन २४ घण्टा लाग्यो । सबैले सास्ती भोगे ।’ पल्टिँदा ट्यांकर चालक भारतको कदोरा, जिल्ला जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव घाइते भएका छन् ।

ट्यांकर पल्टिएपछि ग्यास लिक हुन थालेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले राजमार्गको दुवैतर्फ सवारी आवागमन रोक लगाएपछि गन्तव्यमा हिँडेका सवार यात्रुहरुले २४ घण्टादेखि सास्ती भोगे । अधिकांश सवारीहरु भित्रि बाटो हुँदै निस्किए । ग्यास लिक भएपछि उठाउन कठिन भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी रुपा लाबुङ्गले बताइन् ।

‘सबैभन्दा कठिन काम ग्यास लिक भएपछि आगलागी हुने त्रास थियो,’ उनले भनिन्, ‘प्राविधिकहरुले पनि लिक भएको ग्यासका कारण ट्यांकर नै खाली गराउन सुझाव दिए । यही कारण ढिला हुन गयो ।’ 

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully