जेन-जी आन्दोलनको जगमा बनेको यस सरकारले राष्ट्रपतिबाट प्राप्त कार्यादेशअनुसार सुशासनको जग बसाल्दै राजनीतिक स्थायित्वको मार्गचित्रमा काम गरिरहेको उनले बताइन् ।
What you should know
काठमाडौँ — निजी क्षेत्रका संरचना पुनर्निर्माण भएमा फेरि जल्दैनन् भन्ने ग्यारेन्टी सबैले प्रतिबद्धता व्यक्त गर्नुपर्ने प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको बुधबार काठमाडौंमा आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवादमा बोल्दै प्रधानमन्त्री कार्कीले निजी क्षेत्रले ढुक्कसँग लगानी विस्तार गर्ने वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।
जेन-जी आन्दोलनको जगमा बनेको यस सरकारले राष्ट्रपतिबाट प्राप्त कार्यादेशअनुसार सुशासनको जग बसाल्दै राजनीतिक स्थायित्वको मार्गचित्रमा काम गरिरहेको उनले बताइन् । ‘यस घडीमा हामी सबै पक्षले बुझ्न जरुरी छ कि नागरिकको जीविकामा सुधार हुन सकेन र उसप्रति न्यायपूर्ण व्यवहार गरेका छौँ भन्ने कुराको पूर्ण अनुभूति दिलाउन सकेनौँ भने असन्तुष्टि हट्ने छैन,’ उनले भनिन्, ‘नागरिक असन्तुष्टि र अन्यायको अनुभूति नै द्वन्द्व, अराजकता र अशान्तिको मूल कारक हो ।’
देशको रोजगारदाता, सेवा प्रदायक, पूर्वाधार निर्माणकर्ता, राजस्व संकलनमा योगदानकर्ता एवं सम्पत्ति निर्माण गर्ने उद्यमी व्यवसायीको मनोबल उच्च राखी लगानी बढाउन निर्बाध पेसा व्यवसाय गर्न पाउने र सम्पत्तिको हकको सरकारले सम्मान प्रकट गर्ने उनले बताइन् ।
‘उद्यमी व्यवसायीलाई द्रुत सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चततासहित बन्द, हडताल, तोडफोड, आगजनीलगायतका आक्रमण निषेधित क्षेत्रका रुपमा संरक्षण प्रदान गरौं,’ उनले भनिन्, ‘उद्योग, कलकारखाना, प्रतिष्ठान, निजी आवासलगायतको सुरक्षाको प्रत्याभूति गराउन आवश्यक जेजस्ता कदम चाल्नुपर्छ, त्यसका लागि म मेरो मन्त्रिपरिषद्का सदस्यहरुसँग समेत छलफल गरी आवश्यक निर्णय लिने विश्वास दिलाउन चाहन्छु ।’ यसमा मुख्यतः सम्बद्ध मन्त्रालय र महासंघको सहकार्यमा थप कार्ययोजना बनाई लगानीका बाधाहरु हटाउँदै लैजान सरकार तयार रहेको पनि उनले बताइन् ।
भदौ २३ र २४ गतेको प्रदर्शनमा घुसपैठ, लुटपाट, आगजनी गरी गलत फाइदा उठाउने आपराधिक गतिविधिमा संलग्न व्यक्ति तथा समूहहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकाय क्रियाशील रहेको दाबी गरिन् ।
प्रधानमन्त्री कार्कीले उद्यमी व्यवसायीहरुलाई पनि स्वच्छ अनि मर्यादित व्यवसाय गर्न आग्रह गरिन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा जारी व्यावसायिक आचार संहितालगायत अन्य संगठनद्वारा तयार पारिएका असल व्यावसायिक अभ्यास एवं समयक्रममा थपिएका व्यावसायिक उत्तरदायित्वको निजी क्षेत्रले पूर्ण पालनाको प्रतिबद्धता गर्न पनि उनले आग्रह गरिन् ।
निर्वाचनमार्फत स्थायित्व र निर्बाध पेसा–व्यवसाय गर्न पाउने प्रत्याभूतिसहित उद्यमशीलता विकासमा सरकार प्रतिबद्ध रहेको उनले बताइन् । यसमा नागरिक समाज, युवा पुस्ता, सर्वसाधारण र दलहरुको सकारात्मक सहयोगको सरहाना गरिन । मूलतः सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन गर्ने गरी यो सरकार गठन भएको सबैलाई विदितै रहेको उनले बताइन् ।
