चितवन राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा बसाइँ सरेर आउने र रैथाने चराको अध्ययन गर्न, महत्त्व र संरक्षण विधिबारे समुदायलाई बुझाउन २० युवा सक्रिय छन्।
What you should know
चितवन — चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नारायणी र राप्ती नदीमा हिउँद लागेसँगै बसाइँ सरेर आउने पानीमा आश्रित चराका बथान देखिन थाल्छन् । तिनको प्रजाति र संख्या बर्सेनि गणना हुँदै आएको छ । हिमाल नाघेर आउने यस्ता चराका प्रजाति र संख्यामा हरेक वर्ष घटबढ हुँदै आएको छ । यसको कारण पत्ता लगाउन अहिले २० जना ‘च्याम्पियन’ जुटेका छन् ।
चराको अवस्था अध्ययन गर्न, महत्त्व र संरक्षण विधिबारे समुदायलाई बुझाउन स्थानीय युवाको सहभागितामा ‘च्याम्पियन’ टोली बनाइएको हो । नवलपरासी र चितवनका युवा यो टोलीमा छन् । टोलीका युवा अहिले चराका सम्भावित बासस्थल अध्ययनमा सक्रिय छन् ।
विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपाल र नेपाल सरकारको साझेदारीमा सञ्चालित तराई भूपरिधि संरक्षण कार्यक्रम (ताल) अन्तर्गत स्थानीय युवालाई तालिम दिइएको तालका पूर्वी ‘क्लस्टर’ इन्चार्ज प्रेम पौडेलले बताए । जानकारीसहित तयार भएकाले उनीहरूलाई ‘च्याम्पियन’ नाम दिइएको पौडेलले स्पष्ट पारे । चरा वा वन्यजन्तुको व्यवहार परिवर्तन गर्न सकिँदैन, परिवर्तन गर्नुपर्ने भनेको मानिसको व्यवहार हो भन्ने अवधारणामा आधारित भएर व्यवहार परिवर्तनका लागि सञ्चार (बीसीसी) अभियान सञ्चालन गरिएको छ । यही अभियानअन्तर्गत चरा संरक्षणमा जुट्ने युवाको टोली तयार पारिएको हो ।
तिनै ‘च्याम्पियन’ मध्येका एक हुन्, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१५, बाघखोरका लालबहादुर बोटे । उनी चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा पर्यटक डुलाउने नेचर गाइड हुन् । कावासोतीको पुरानो सिमसार ‘बुढौली कुना घोल’मा भेटिएका लालबहादुर अग्रज र साथीसँगै त्यहाँ आउने चरा, घोलको अवस्था, वरपरका बोटबिरुवा र खेती प्रणालीको टिपोट गर्दै थिए । टोलीले त्यहाँ बसाइँ सरेर आउने र रैथाने गरी ३२ प्रजातिका चराको अभिलेख बनाएको छ ।
बुढौली कुना घोल चराका लागि मात्रै होइन, स्थानीय समुदायको जीवनको आधार पनि हो । मध्यहिउँदमा समेत कुलोमा बग्ने पानीको स्रोत यही घोल हो । घोल वरपर मंसिरमा काटिएको धानका ठुटा छन् । ओसिलो जमिन रहेको यस क्षेत्रमा चैते धानको तयारी सुरु भइसकेको छ । बीउ राखिएको ब्याड वरपर चरा नआओस् भनेर मान्छे उभिएको जस्तो देखिने गरी बोरा र प्लास्टिक बाँधिएको छ, तर त्यसबीच पनि बीउ टिप्दै गरेका चरा देखिन्थे ।
घोल क्षेत्रमा घुँगीफोर गरुड, भुँडीफोर गरुडजस्ता ठूला चरा तथा बसाइँ सरेर आउने चखेवाको जोडी भेटिए । कावासोती बजारसँग जोडिएको जंगलबाट करिब डेढदेखि दुई किलोमिटर दूरीमा यो घोल छ । जंगलसँगै घरहरू लहरै छन्, त्यसपछि खेत र त्यसको तल घोल । घोलको दक्षिणतर्फ लौखानी गाउँ पर्छ । घोल जोगिए सिँचाइ र खेती राम्रो हुने बुझाइ स्थानीयमा छ । तर चरा किन आउँछन्, मानवीय गतिविधिले उनीहरूलाई कस्तो असर पार्छ भन्नेबारे जानकारी कमैलाई छ । चरा घट्दै गएको अनुभूति भने सबैको साझा छ । यिनै प्रश्नको उत्तर खोज्न र चराको महत्त्व बुझाउन सक्रिय छ, ‘च्याम्पियन’ टोली ।
तालका पूर्वी ‘क्लस्टर’ इन्चार्ज पौडेलका अनुसार चितवनतर्फ कालाबञ्जर मध्यवर्ती उपभोक्ता समितिका पाँच र नवलपरासीका पिठौली, लामीचौर, गुन्द्रही–ढकाहा क्षेत्रका १५ गरी २० युवा यस अभियानमा छन् । तीमध्ये ९ युवती छन् । कालाबञ्जर क्षेत्रको दिव्यनगरका खेतमा हिउँदमा बसाइँ सरेर कमन क्रेन (लक्ष्मण सारस) प्रशस्त आउँछन् । बुढौली कुना घोलनजिकै पनि धान खेतमा चार वटा ‘कमन क्रेन’ देखिएका थिए । मेघौली घटगाई नेचर गाइड एसोसियसनका अध्यक्ष मनेश लिम्बूका अनुसार पाँच–छ वर्षअघि त्यहाँ २०० भन्दा बढी ‘कमन क्रेन’ गणना गरिएको थियो, यस वर्ष भने २६ वटा मात्रै देखिएका छन् ।
निकुञ्जभित्र रहेका तालतलैया पनि बसाइँ सरेर आउने चराको प्रमुख बासस्थल हुन् । तर ती तालहरू मिचाहा झार र गेग्रानले पुरिँदै गएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगर बताउँछन् । निकुञ्जबाहिर मानवीय चाप, विषादी, रासायनिक मल र प्लास्टिकको प्रयोग पनि बढ्दै गएको छ । ‘चरा आउनु भनेको वातावरण स्वच्छ हुनुको संकेत हो,’ थापा मगर भन्छन्, ‘त्यसैले हिउँदमा बसाइँ सरेर आउने चराको संख्या र प्रजाति बढ्नु सकारात्मक संकेत हो ।’
नेपाल हिउँदमा बसाइँ सर्ने चराहरूको मुख्य मार्ग हो । विशेषगरी चितवन निकुञ्ज हुँदै बग्ने नदी क्षेत्रमा यस्ता चराको संख्या उल्लेखनीय छ । अब चराको संख्या गणनासँगै बासस्थलको अवस्थाको विश्लेषण आवश्यक भएको डब्लूडब्लूएफ नेपालका राजेन्द्र सुवाल बताउँछन् । चरा अनुगमन गर्दा नदी–खोलाको अवस्था, सिमसारमा रहेका बोटबिरुवा, घाँसले ढाकिएको क्षेत्र, गाईबस्तुको चरन, गिट्टी–ढुंगा उत्खनन जस्ता विवरणसमेत संकलन गरिने उनले जानकारी दिए ।
