नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार ११ महिनाको अवधिमा देशभर २ लाख ५१ हजारभन्दा बढी उडान सञ्चालन भएका छन् भने १ करोड २२ लाखभन्दा बढी यात्रुले हवाई सेवा उपयोग गरेका छन् ।
What you should know
काठमाडौँ — काठमाडौंसहित नेपालका ३३ विमानस्थलहरूमा सन् २०२५ को जनवरीदेखि नोभेम्बरसम्म हवाई आवागमन उल्लेखनीय रूपमा बढेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकअनुसार ११ महिनाको अवधिमा देशभर २ लाख ५१ हजारभन्दा बढी उडान सञ्चालन भएका छन् भने १ करोड २२ लाखभन्दा बढी यात्रुले हवाई सेवा उपयोग गरेका छन् ।
यस अवधिमा हवाई कार्गो ढुवानी पनि उल्लेखनीय रूपमा बढ्दै करिब ३ करोड ९२ लाख किलो पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण का निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णका अनुसार, जसले पर्यटनसँगै व्यापार, आयात–निर्यात र आन्तरिक आपूर्ति प्रणालीमा हवाई क्षेत्रको बढ्दो भूमिका देखाएको छ ।
देशको प्रमुख हब त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानतर्फ मात्रै २८ हजारभन्दा बढी उडान भएका छन् । यसमार्फत ४० लाखभन्दा बढी अन्तर्राष्ट्रिय यात्रु ओहोरदोहोर गरेका छन् भने कार्गो ढुवानी २ करोड २५ लाख किलोभन्दा बढी पुगेको छ ।
आन्तरिक उडानतर्फ काठमाडौंबाट ८४ हजारभन्दा बढी उडान हुँदै ३७ लाखभन्दा बढी यात्रुले ११ महिनामा सेवा लिएका छन् । यो तथ्यांकले काठमाडौं उपत्यका अझै पनि देशको हवाई आवागमनको केन्द्रमै सीमित रहेको संकेत गर्छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडानमा उल्लेखनीय गतिविधि देखिएको छ । पोखराबाट मात्रै करिब २४ हजार उडान सञ्चालन हुँदा झन्डै ८ लाख यात्रुले सेवा लिएका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भारहवाबाट अन्तर्राष्ट्रिय उडान भने अझै सीमित देखिन्छ । ११ महिनामा जम्मा २२१ अन्तर्राष्ट्रिय उडान मात्र सञ्चालन हुनु आर्थिक सम्भावनाको पूर्ण उपयोग हुन नसकेको संकेत हो ।
नेपालगञ्ज, विराटनगर, धनगढी, भद्रपुर (चन्द्रगढी) जस्ता क्षेत्रीय विमानस्थलहरूमा यात्रु आवागमन स्थिर देखिए पनि कार्गो ढुवानी तुलनात्मक रूपमा कमजोर छ । धेरै विमानस्थलमा कार्गो शून्य वा न्यून मात्रामा सीमित रहेको तथ्यांकले क्षेत्रीय व्यापार विस्तारमा हवाई कार्गो संरचना कमजोर रहेको देखाउँछ ।
हवाई यात्रु संख्या बढ्नु पर्यटन पुनरुत्थानको सकारात्मक संकेत हो । तर अन्तर्राष्ट्रिय उडान र कार्गो विस्तार बिना हवाई क्षेत्रले अर्थतन्त्रमा अपेक्षित गुणात्मक योगदान दिन नसक्ने व्यवसायीहरुको विश्लेषण छ।
