पूर्व–पश्चिम राजमार्ग अझै तीन घण्टा नखुल्ने, ग्यास फालेर ट्यांकर उठाउने तयारी

अहिले प्राविधिक र सुरक्षाकर्मीले ट्यांकरबाट पाइप लगाएर दक्षिण क्षेत्रतिर ग्यास फालिरहेका छन् । ट्यांकरबाट ग्यास खाली हुन अझै ३ घण्टा लाग्ने सुरक्षाकर्मीले जानकारी दिए ।

पुस १५, २०८२

शिव पुरी

East-West Highway to remain closed for another three hours, preparations to lift tankers by pouring gas

What you should know

रौतहट — चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको दोस्रो लच्कानजिकै सडकमै पल्टिएको ग्यास बोकेको बुलेट ट्यांकर उठाउन नसकेपछि अझै तीन घन्टा राजमार्ग अवरुद्ध हुने प्रहरीले जनाएको छ । अहिले पाइपमार्फत ग्यास फालेर ट्यांकर उठाउने तयारी चलिरहेको छ ।

अहिले धमाधम ग्यास फाल्ने काम भइरहेको छ । ट्यांकरबाट पाइप लगाएर ग्यास बाहिर फालेपछि ट्यांकर खाली गरी सडकबाट उठाइनेछ । भारी मात्रामा ग्यास लोड भएकाले ६ वटा क्रेनले समेत उठाउन नसकेपछि ट्यांकर खाली गर्न लागिएको हो । अहिले प्राविधिकसहित सुरक्षाकर्मीले धमाधम ग्यास निकालेर ट्यांकर खाली गराइरहेका छन् । 

बीच सडकमै ट्यांकर पल्टिएर प्वाल परेपछि ग्यास लिक भएको थियो । त्यसपछि आगो लाग्ने भन्दै सुरक्षाकर्मीले दुई किलोमिटरसम्मको क्षेत्र सिल गरेका थिए । घटनास्थलमा कुनै पनि सवारीसाधन जान दिइएको छैन । यहाँ मोबाइल चलाउन समेत बन्देज गरिएको छ । लिक भएको ग्यासबाट आगो लाग्न सक्ने भएकाले अन्य सवारी साधनलाई रोक लगाइएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी रुपा लाबुङले जानकारी दिए । 

ट्यांकरबाट ग्यास बाहिर निकाल्दा विद्युत् लाइनका कारण आगो लाग्ने खतरा बढेपछि लाइन काट्न जिल्ला प्रशासनले विद्युत् प्राधिकरणसित अनुरोध गरेको थियो । तर हाइटेन्सन लाइन भएकाले विद्युत् काट्न नमिल्ने जवाफ आएपछि अहिले प्राविधिक र सुरक्षाकर्मीले ट्यांकरबाट पाइप लगाएर दक्षिण क्षेत्रतिर ग्यास बाहिर फालिरहेका छन् । ट्यांकरबाट ग्यास खाली हुन अझै ३ घण्टा लाग्ने सुरक्षाकर्मीले जानकारी दिए । 

भारतबाट वीरगन्ज नाका हुँदै पूर्वतर्फ आउँदै गरेको यूपी १७ एपी २११४ नम्बरको एलपी ग्यास लोड बुलेट ट्रक मंगलबार बिहान साढे ७ बजे अनियन्त्रित भई सडकको बीच भागमै पल्टिएको थियो । त्यसपछि सवारी साधन आवागमन ठप्प छ । दुर्घटनामा परी ट्यांकर चालक भारतको कदोरमा थाना जयनगरका ३७ वर्षीय पवन यादव घाइते भएका छन् । उनको बायाँ काँध र हातमा चोट लागेको प्रहरीले जनाएको छ । चालक यादवको चन्द्रपुरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

शिव पुरी उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully