भयरहित वातावरण बनाउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण : प्रहरी महानिरीक्षक कार्की

लुम्बिनी प्रेस क्लबद्वारा आयोजित न्युज फेस्टिवलको समापनमा महानिरीक्षक कार्कीले प्रहरी र सञ्चारकर्मीबीचको सम्बन्धलाई नङ र मासुको रुपमा चित्रित गर्दै लुकेका अपराध बाहिर ल्याउन निर्वाह गरेको भूमिका महत्त्वपूर्ण भएको बताए ।

पुस १४, २०८२

मनोज पौडेल

Role of media sector important in creating fear-free environment: Inspector General of Police Karki

लुम्बिनी — प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा भयरहित वातावरणमा नागरिकले जीवनयापन गर्न पाउने वातावरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।

लुम्बिनी प्रेस क्लबद्वारा आयोजित न्युज फेस्टिवलको समापनमा महानिरीक्षक कार्कीले प्रहरी र सञ्चारकर्मीबीचको सम्बन्धलाई नङ र मासुको रूपमा चित्रित गर्दै लुकेका अपराध बाहिर ल्याउन सञ्चार क्षेत्रले निर्वाह गरेको भूमिका महत्त्वपूर्ण भएको बताए ।

लुम्बिनीस्थित बेबी बुद्धमा सोमबार  न्युज फेस्टिवलको समापन एवं क्लबको स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा उनले खोज पत्रकारितामार्फत लुकेका कैयौं अपराध बाहिर ल्याउन सञ्चारकर्मीले सहयोग पुर्‍याइरहेको बताए । ‘कहिलेकाहीँ घटनास्थलमा प्रहरी भन्दा पहिले सञ्चारकर्मी पुगेर अपराधमा संलग्नलाई पक्राउ गर्ने आधार र प्रमाण पाउँदा अनुसन्धानमा पनि सहयोग पुगेको छ,’ उनले भने । अफवाह, मिथ्या र भ्रामक सूचना चिर्न पत्रकारले तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार समाचार दिएर नागरिकमा चेतनाको स्तर बढाउनु पर्ने उनले बताए । 

लुम्बिनी प्रेस क्लबको ११ औं स्थापना दिवसका अवसरमा आयोजित हेरिटेज वाकको पनि महानिरीक्षक कार्कीले शुभारम्भ गरेका थिए । पर्सा चोकदेखि हेरिटेज वाक गर्दै टोली बेबी बुद्धमा पुगेर समापन गरिएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष निर्मला शर्मा, प्रेस काउन्सिल अध्यक्ष डा. कुमार आचार्य, लुम्बिनी सांस्कृतिक नगरपालिकाका कार्यवाहक प्रमुख कल्पना हरिजन, लुम्बिनी विकास कोषका सदस्य-सचिव दीपक श्रेष्ठलगायतले सञ्चार क्षेत्रको भूमिकाबारे बोलेका थिए । तीन दिने न्युज फेस्टिवलमा नेपाल र भारतका पत्रकार, पर्यटन व्यवसायी, उद्यमी, भिक्षु र लामा गुरु सहभागी थिए । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully