धेरैजसो पुरानै नेताहरू दोहोरिए ।
What you should know
दाङ — कांग्रेस र नेपाली कम्युनिष्ट पार्टीले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेद्वार सिफारिस गरेका छन् । सिफारिसमा अधिकांश पुरानै नेता दोहोरिएका छन् । समावेशी सिद्धान्त अवलम्बन गरी युवा, महिलाजस्ता उम्मेदवार समावेश गरिए पनि पहिलो प्राथमिकतामा पुरानै सांसद् तथा केन्द्रीय नेताहरू नै परेका छन् ।
समावेशी समूहबाट प्रतिनिधित्व गर्नेहरूलाई औपचारिकताका लागि राखिएको देखिन्छ । नेपाली कम्युनिष्ट पार्टीले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ मेटमणी चौधरीलाई एक नम्बरमा सिफारिस गरेको छ । उनी २०७४ र २०७९ मा गरी दुईपटक प्रतिनिधिसभाका सदस्य तथा एकपटक शहरी विकास मन्त्री भएका थिए । उनी माधव कुमार नेपाल नेतृत्वको एकिकृत समाजवादीका प्रमुख सचेतक समेत थिए ।
यसैगरी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसी दोस्रो नम्बरमा सिफारिस भएका छन् । पटकपटक सांसद् भएका प्रदेश सभा सदस्य इन्द्रजित थारु पनि सिफारिशमा परेका छन् । क्षेत्र नम्बर १ बाट सिफारिसमा परेका अन्य नेताहरूमा सुदन प्रसाद खनाल, अमर कवर, दिलिप कुमार सोनी, दीपा रोका मगर र लुमबहादुर कार्की छन् ।
यसैगरी क्षेत्र नम्बर २ बाट निर्मल आचार्य पहिलो नम्बरमा सिफारिसमा परेका छन् । उनी २०७० को संबिधानसभा सदस्य निर्वाचनमा उम्मेद्वार भई पराजित भएका थिए । दोस्रो नम्बरमा हेमराज शर्मा पोख्रेल छन् । उनी २०७९ मा घोराही उपमहानगरपालिका प्रमुखको उम्मेद्वार भइ पराजित भएका थिए ।
यसैगरी कविराम केसी, खिमबहादुर चौधरी, मिना बुढा र गिरबहादुर महरा पनि दुई नम्बर क्षेत्रबाट सिफारिस भएका छन् । पूर्व सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले भने उम्मेद्वार बन्न अनिच्छा देखाएको माओवादी केन्द्रका पूर्व जिल्ला अध्यक्ष हरिमान पुनले जानकारी दिएका छन् ।
क्षेत्र नम्बर ३ बाट लुम्बिनी प्रदेशका पूर्व अर्थ मन्त्री धनबहादुर मास्की पहिलो नम्बरमा सिफारिसमा परेका छन् । यसैगरी मधुकर रिजाल, पुनम सेर्पाइली, नरेश रेग्मी, पुष्प ओली, विरेन्द्र विक, विप्लव ओली, गोपाल ओली, हरिश गिरि पनि सिफारिस भएका छन् । पूर्वसभामुख कृष्णबहादुर महरालाई जिल्लाबाट सम्मानार्थ सिफारिस गरिएको छ ।
यसैगरी कांग्रेसले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ योगेन्द्र चौधरी, जानकीलाल बस्नेत, कमलकिशोर घिमिरे र प्रदीपराज शर्माको नाम सिफारिश गरेको छ । समानुपातिकतर्फ कृष्णकिशोर घिमिरे, सुशीला चौधरी, देवका बेलबासे, अनुराग यादव, खिमा अधिकारी, मधुप्रसाद न्यौपाने, खड्गबहादुर बिक, कृष्ण गिरी र पवन नेपालीको नाम सिफारिश भएको छ । समानुपातिकमा सिफारिश गरिएका घिमिरे पूर्व प्रतिनिधिसभा सदस्य र चौधरी संबिधानसभा सदस्य हुन् भने बेलबासे लमही नगरपालिकाको पूर्व उपप्रमुख हुन् ।
क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ विमला योगी, किरणकिशोर घिमिरे, भोजराज पाण्डे, खगराज पाण्डे, बमबहादुर डिसी, अनिता देवकोटा, दुर्लभ केसी, विपुल पोख्रेल, विष्णु शर्मा र कुलराज खनालकोे नाम सिफारिश भएको छ । देवकोटा राष्ट्रियसभा सदस्य हुन् भने पोख्रेल पत्रकार महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष हुन् । समानुपातिकतर्फ गोमा रावत, सावित्रा राना, हरि सुवेदी, बाबुराम विश्वकर्मा, गणेशकुमार चौधरी र विपिन बुढाथोकीको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति भीमप्रकाश खड्काले जानकारी दिए ।
क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ दीपक गिरी, शंकरप्रसाद डाँगी, कीर्तिबहादुर खड्का, केशवराज आचार्य र राजेन्द्र धितालको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति जगत बहादुर खड्काले जानकारी दिए । गिरी हाल पनि प्रतिनिधिसभा सदस्य छन् । पूर्व सिचाई मन्त्री समेत रहेका गिरी २०४६ सालको परिवर्तनपछि लगातार सांसद्को उम्मेद्वार हुँदै आएका छन् । डाँगी काँग्रेस जिल्ला सभापति हुन् भने खड्का पूर्व सभापति हुन् ।
समानुपातिकतर्फ बुद्धिराम भण्डारी, भरत केसी, महादेव शाह, कमानसिंह डाँगी, यमप्रसाद पाण्डे, मदन रसिक, देविका नेपाली, मिथिला शाह, चित्रा गिरी, कउलापति चौधरी, घनश्याम सुनार सेर्पाली, चेतबहादुर सेर्पाली र यादव चौधरीलाई सिफारिस गरिए को छ । भण्डारी संबिधानसभा सदस्य हुन् ।
यसैगरी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि क्षेत्र नं. २ बाट वीरकेशरी गौतम, घनश्याम रेग्मी, मोहनलाल वली र नदनकुमार शर्माको नाम सिफारिस गरिएको छ । गौतम र रेग्मी पूर्व जिल्ला सभापति हुन् । क्षेत्र नं. ३ बाट राष्ट्रियसभाको लागि गेहेन्द्र गिरी, जगतबहादुर खड्का, शंकर गिरी, देवा डाँगी, कृष्ण कुमार गिरी र अर्जुन गिरीलाई सिफारिस गरिएको छ । गेहेन्द्र गिरी केन्द्रीय सदस्य तथा पूर्व सांसद् हुन् । उनी दुईपटक तुलसीपुर उपमहानगरपालिका प्रमुखमा उम्मेद्वार भई पराजित भएका थिए । शंकर गिरी लुम्बिनी प्रदेशसभाका पूर्व सदस्य हुन् । अर्जुन गिरी सामुदायीक रेडियो प्रसारक संघका केन्द्रीय अध्यक्ष हुन् ।
एमालेबाट कोमल वली र शान्ता चौधरी समानुपातिक उम्मेद्वारमा छनोट भएका छन् भने प्रत्यक्षतर्फका उम्मेद्वारको अझै निर्णय भएको छैन ।
