राष्ट्रिय सभा अधिवेशन पुस अन्तिम साता बोलाउने समझदारी

प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीचको भेटमा राष्ट्रिय सभाको अधिवेशन आह्वान, सभाका लागि आवश्यक बिजनेस, कार्यपालिका र व्यवस्थापिकाबीचको समन्वय लगायतका विषयमा छलफल भएको थियो ।

पुस १४, २०८२

कान्तिपुर संवाददाता

Agreement to convene National Assembly session in the last week of December

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहालले सोमबार प्रधानमन्त्री कार्कीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर भेट गरेका हुन् ।

भेटमा राष्ट्रिय सभाको अधिवेशन आह्वान, सभाका लागि आवश्यक बिजनेस, कार्यपालिका र व्यवस्थापिकाबीचको समन्वय लगायतका विषयमा छलफल भएको थियो ।

भेटमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको हिउँदे अधिवेशन आह्वान गर्नुपर्ने समय भइसकेको भन्दै सरकारको तयारीका बारेमा चासो राखेका थिए । राष्ट्रिय सभाको अधिवेशन सुरु हुँदा सरकारलाई सहज हुने भन्दै अध्यक्ष दाहालले संसद्‌का काम कारबाहीले सरकारलाई आफ्ना काम गर्न थप सहयोग नै हुने बताएका थिए ।

सिंहदरबारस्थित कृषि समितिको हललाई मर्मत गरेर राष्ट्रिय सभाको सभाकक्ष निर्माणको काम अन्तिम चरणमा पुगिसकेको जानकारी दिँदै अध्यक्ष दाहालले बैठक सञ्चालनका लागि आफूहरु तयार रहेको बताएका थिए ।

जवाफमा प्रधानमन्त्री कार्कीले राष्ट्रिय सभाको अधिवेशन आह्वानका लागि सरकार सकारात्मक रहेको बताउँदै छिट्टै टुंगोमा पुग्ने बताएकी थिइन् । छलफलमा पुसको अन्तिम साता राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्ने समझदारी भएको छ ।

भेटमा अध्यक्ष दाहालले पूर्वसांसद मञ्चमा तत्काल देखिएका समस्या लगायत संघीय संसद सचिवालयका विविध विषय र पछिल्लो सरकार गठनपछि रोक्का भएका विभिन्न आयोजनाहरुका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

कान्तिपुर

Link copied successfully