नयाँ शक्तिबीच सम्झौता : जेन-जी आन्दोलनका घाइते आशावादी, अगुवाको प्रश्न

जेन–जी आन्दोलनका घाइतेहरू रवि र बालेन्द्रबीचको सहकार्यले ‘वैकल्पिक शक्ति’ उदाउनेमा आशावादी देखिएका छन् । तर, आन्दोलनका अगुवाले भने सहमतिमा ‘एजेन्डा–केन्द्रित आधार’ नदेखिएको, पद–भागबन्डा हाबी भएको र पुरानै शक्ति संघर्षको छाया दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पुस १४, २०८२

समर्पण श्री, दया दुदराज

Agreement between New Powers: Wounded optimists of Gen-G movement, questions from leaders

What you should know

काठमाडौँ — रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहबीच भएको राजनीतिक सहमतिको विषयमा जेन–जी पुस्ताले मिश्रित प्रतिक्रिया दिएको छ । पुराना राजनीतिक शक्तिप्रतिको वितृष्णा र प्रणाली सुधारको आकांक्षाबाट उदाएको यो पुस्ता सहमतिलाई लिएर उत्साहित हुनुका साथै सशंकित पनि देखिएको हो ।

जेन–जी आन्दोलनका घाइतेहरू रवि र बालेन्द्रबीचको सहकार्यले ‘वैकल्पिक शक्ति’ उदाउनेमा आशावादी देखिएका छन् । तर, आन्दोलनका अगुवाले भने सहमतिमा ‘एजेन्डा–केन्द्रित आधार’ नदेखिएको, पद–भागबन्डा हाबी भएको र पुरानै शक्ति संघर्षको छाया दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । 

यो सहमतिले वैकल्पिक राजनीतिक शक्तिको आशा जगाएको ट्रमा अस्पतालमा उपचाररत जेन–जी आन्दोलनका घाइते प्रकाश बोहोराले बताए । आन्दोलनका क्रममा बानेश्वर क्षेत्रमा खुट्टामा गोली लागेपछि रगताम्य जुत्ता छोडेर अस्पताल पुगेका प्रकाशको त्यो जुत्ता जेन–जी विद्रोहको ‘आइकन’का रूपमा चर्चित छ । उनले सहमतिबाट उत्साहित हुँदै भने, ‘हामीले पहिलेदेखि चाहेको कुरा यही हो । दुवै जना हामीले आशा गरेका पात्र हुन् । दुवै एक ठाउँ उभिँदा खुसी लागेको छ ।’

यद्यपि, जेन–जी विद्रोहको तीन महिना बितिसक्दा पनि राजनीतिक र संस्थागत सुधार नदेखिएको तथा पुरानै नेतृत्व फेरि बलियो हुने हो कि भन्ने चिन्ता अझै बाँकी रहेको उनले बताए । ‘सहमति स्वागतयोग्य छ । तर को प्रधानमन्त्री बन्ने भन्ने कुरा यसरी बाहिर ल्याउँदा राम्रो सन्देश जाँदैन । यो विषय आन्तरिक रूपमै मिलाएर लैजानुपर्थ्यो,’ उनले भने । ऊर्जामन्त्री कुलमान घिसिङलाई पनि समेटेर अघि बढ्नुपर्ने उनले धारणा राखे । 

जेन–जी आन्दोलनका अर्का घाइते सान्तनु ढकालले पनि सहमतिले आफूलाई खुसी बनाएको बताए । ‘बालेन्द्र हामीले पहिलेदेखि नै आशा र समर्थन गरेका पात्र हुन् । अब हामी रवि र बालेन्द्र दुवैलाई आशा गर्न सक्छौं,’ उनले भने । सहमतिको बाहिरी स्वरूपमा पद–केन्द्रित बुँदाहरू हाबी भए पनि व्यवहारमा उनीहरूले जेन–जी आन्दोलनका माग र घाइतेको मर्मलाई समेटेर अघि बढ्नुपर्नेमा ढकालले जोड दिए । जेन–जी घाइते लिजा अधिकारीले पनि रवि–बालेन्द्र एकताप्रति उत्साह व्यक्त गरिन् । ‘म त एकदमै खुसी छु । अब उहाँहरूसँगै अझ नयाँ अनुहारहरू पनि आउनेछन् भन्नेमा विश्वस्त छु,’ उनले भनिन् । 

जेन–जी अगुवा विकास रसाइलीले पुरानो र नयाँ दलबीच तात्त्विक भिन्नता नदेखिएको भन्दै यो सहमतिलाई ‘शक्ति भागबन्डा’ को निरन्तरताका रूपमा टिप्पणी गरे । ‘दुई नेताबीच पद बाँडफाँटमा यो सहमति केन्द्रित देखिन्छ,’ उनले भने, ‘यो सहमति विगतमा केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको शक्ति बाँडफाँटकै अर्को संस्करण हो ।’

सम्झौतामा सामाजिक मुद्दा नभएको उनको टिप्पणी छ । ‘दस्तावेजमै पदको बाँडफाँट लेखिनुले उनीहरूमा पनि सत्ताकै भोक देखिन्छ । वैचारिक धरातल शून्य छ । व्यवहारमा भिन्नता देखिएन भने नयाँ भनिएकाहरू पनि पुरानै शैलीमा अघि बढ्नेछन्,’ उनले भने । ‘नयाँ हुँदैमा सबै कुरा ठीक हुन्छ भन्ने भ्रम मात्रै हो । कामले प्रमाणित गर्नुपर्छ ।’ 

अर्का जेन–जी अगुवा अर्णव चौधरीले यो सहमति स्वागतयोग्य रहेको धारणा राखे । पुराना नेतृत्वको तुलनामा नयाँ पुस्ताले सुधारको गति बढाउने अपेक्षासहित यो सहमतिलाई सकारात्मक रूपमा लिएको उनको भनाइ छ । ‘पुराना नेतृत्वभन्दा नयाँ जो आए पनि उनीहरूले राम्रै काम गर्लान् भन्ने आम अपेक्षा हो,’ उनले भने, ‘यद्यपि, यो सहमति पूर्ण भने छैन ।’

चौधरीले सहमतिमा संघीयता र समावेशिताजस्ता संवैधानिक विषयलाई प्राथमिकताका साथ समेट्नुपर्नेमा जोड दिए । ‘संविधानमा उल्लिखित संघीयता र समावेशिताका विषयलाई पनि हाइलाइट गरिएको भए अझ प्रभावकारी हुन्थ्यो । जेन–जी आन्दोलनका भावना पनि समेटिनुपर्थ्यो,’ उनले भने । उनले पुराना नेतृत्वविरुद्धको संघर्ष र हस्तक्षेपकारी भूमिका अन्य दलभित्र पनि हुनुपर्ने भन्दै थपे, ‘हामीले लडेको नयाँ अनुहारकै लागि हो । अब अन्य पार्टीभित्र पनि पुरानालाई विस्थापित गर्न जेन–जी पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्नुपर्छ ।’

Agreement between New Powers: Wounded optimists of Gen-G movement, questions from leaders

जेन–जी मुभमेन्ट अलायन्सका अगुवा अमित खनालले रवि र बालेन्द्रले अँगालेको उदारवादी र पुँजीवादी मार्गलाई समृद्धिको विकल्पका रूपमा प्रचार गरिए पनि त्यसले निम्न वर्गलाई झन् संकटतिर धकेल्ने प्रतिक्रिया दिए । पुराना भ्रष्ट पात्रलाई विस्थापित गर्ने नारासहित उदाएका नयाँ अनुहार पनि व्यवहारमा उस्तै देखिएको उनको आरोप छ । 

जेन–जी अगुवा माजिद अन्सारीले सहमतिलाई ‘सकारात्मक तर चुनौतीपूर्ण’ कदमका रूपमा चित्रित गरे । रवि र बालेन्द्रजस्ता शक्तिहरू मिल्नुपर्छ भन्ने पक्षमा आफू रहे पनि समीकरणको आधार प्रस्ट नरहेको उनले बताए । ‘यो मिलन व्यक्तिमा होइन, मुद्दा र एजेन्डामा आधारित हुनुपर्छ । व्यक्तिहरू मात्रै केन्द्रमा भए, विगतकै पुष्पकमल दाहाल र केपी शर्मा ओलीबीचको संघर्षहरूको पुनरावृत्ति हुने जोखिम रहन्छ,’ उनले भने ।

अन्सारीले यो समीकरणले वर्तमान प्रणालीप्रति देखाएको उदासीनतामाथि पनि प्रश्न उठाए । विशेषगरी राजनीतिक परिवर्तनको आधार मानिएको जेन–जी र सरकारबीचको १० बुँदे समझदारीजस्ता ऐतिहासिक दस्तावेज सहमति प्रक्रियामा ओझेलमा परेको उनको भनाइ छ । ‘यस्ता गतिविधिले लोकतान्त्रिक गणतन्त्र र समावेशिताका मुद्दा कमजोर बनाउन सक्छन्,’ उनले भने ।

अगुवा चौधरीले जेन–जीको माग, मुद्दा र आफूहरूलाई पनि समेटेर रवि–बालेन्द्र अघि बढ्नुपर्ने बताए । सहमति राजनीतिमा नयाँ आशाको झिल्को बने पनि यसले संवैधानिक, सामाजिक र समावेशी मुद्दालाई कसरी अगाडि बढाउँछ भन्ने प्रश्न रहेको अगुवाहरूको प्रतिक्रिया छ । नयाँ अनुहारप्रतिको आकर्षण र पुराना शक्तिप्रतिको वितृष्णाले जन्माएको जेन–जी संघर्ष केवल नेतृत्व परिवर्तनका लागि नभई प्रणाली सुधारका लागि भएको भन्दै उनीहरूले कामबाटै विश्वास जित्नुपर्ने संकेत गरेका छन् ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully