वैकल्पिक राजनीति र जेन–जी विद्रोहको अभिभारा हाम्रो काँधमा आएको छ : शिशिर खनाल

७ बुँदे समझदारी गर्नुअघि राति अबेरसम्म पनि घिसिङलाई पनि साथै लिएर जाने प्रयास भएको उनले बताए ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

The responsibility of alternative politics and the Gen-G rebellion has fallen on our shoulders: Shishir Khanal

काठमाडौँ — रास्वपाका नेता शिशिर खनालले उज्यालो नेपाल पार्टीका नेता समेत रहेका कुलमान घिसिङलाई मिलाउने प्रयास अझै नसकिएको बताएका छन्।

उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच ७ बुँदे समझदारी गर्नुअघि राति अबेरसम्म पनि घिसिङलाई पनि साथै लिएर जाने प्रयास भएको बताए। उनले भने, ‘अनौपचारिक रूपमा हामी संवादमै छौं। उहाँलाई पनि साथमै लिएर जाने कुरा सकिएको छैन।’

उनले ७ बुँदे समझदारीलाई अब पार्टी तहबाट अनुमोदन गर्ने काम बाँकी रहेको बताउँदै अब त्यसको प्रक्रिया सुरु भएको बताए। उनले भने, ‘अहिले समानुपातिक उम्मेदवार चयनको अन्तिम दबाब छ। त्यो काम सकेर गर्ने कि त्यसअघि नै गर्ने भन्नेमात्र हो।’ उनले केन्द्रीय समिति बैठक डाकेर समझदारी अनुमोदन गर्ने र त्यो कहिले हुने भन्नेबारे सम्भवत: आजै छलफल हुने बताए।

आइतबार झिसमिसे हुनुअघि भएको सम्झौताले आफूहरूलाई उत्साहित बनाएको र देशभित्र र बाहिरबाट पनि राम्रो प्रतिक्रियाहरू आइरहेका बताए। उनले भने, ‘एकदमै उत्साहित बनाएको छ। खासगरी विदेशमा रहेका साथीहरू आफूहरू मतदानकै लागि आउने भन्दै यसलाई स्वागत गरिरहेका छन्।’ उनले पछिल्लो समझदारीलाई इतिहासको सबैभन्दा महत्वपूर्ण क्षण भएको टिप्पणी गर्दै वैकल्पिक राजनीतिक शक्तिलाई बलियो बनाउने आफूहरूको प्रयास अघि बढेको बताए। उनले भने, ‘जेन–जी विद्रोहको अभिभारा र वैकल्पिक राजनीतिलाई अघि बढाउने जिम्मेवारी हाम्रो काँधमा आएको छ।’

सम्बन्धित समाचार 

रवि-बालेनबीच सम्झौता हुँदा छुटे कुलमान

कान्तिपुर

Link copied successfully