हुस्सु–कुहिरोले एक सातामा ३२८ आन्तरिक उडान स्थगित

मौसम खराब हुँदा पर्वतीय उडानसहित नेपालगन्ज, जनकपुर, विराटनगर, भद्रपुर, भैरहवा, भरतपुर, धनगढी, भोजपुर, थामखर्कलगायतका गन्तव्यमा जाने उडान बढी प्रभावित भएका हुन् ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Fog cancels 328 domestic flights in a week

What you should know

काठमाडौँ — तराईका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु, कुहिरो र शीतलहर देखिएपछि आन्तरिक हवाई उडानमा व्यापक असर परेको छ । पुस ६ गतेदेखि १२ गतेसम्म एक साताको अवधिमा दुईतर्फी गरी कुल ३ सय २८ उडान स्थगित भएका छन् भने ८६ वटा उडान मर्ज गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित आन्तरिक टर्मिनल कार्यालयले जनाएको छ ।

नेपालमा आन्तरिक उडान सञ्चालन गर्ने सातवटा वायुसेवा कम्पनी रहेका छन् । तीमध्ये बुद्ध एयर, यति एयरलायन्स, श्री एयरलायन्स, सीता एयर, तारा एयर, समिट एयर र नेपाल एयरलायन्सले नियमित उडान गर्दै आएका छन् । मौसम प्रतिकूल बनेसँगै यी सबै कम्पनीका उडानहरू प्रभावित भएका हुन् ।

जल तथा मौसम विज्ञान विभागले तराईका अधिकांश स्थानमा हुस्सु, कुहिरो र शीतलहर देखिएपछि नियमित तीन दिने मौसम बुलेटिन जारी गर्दै आएको छ । विभागका अनुसार अधिकांश स्थानमा लागेको हुस्सु मध्याह्नसम्म क्रमशः सुधार हुने गरेको छ । यद्यपि यसले हवाई यातायात मात्र नभई तराईका दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक यातायातलगायत विभिन्न क्षेत्रमा प्रत्यक्ष प्रभाव पारेको जनाएको छ । विभागले सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार तराईका अधिकांश स्थानमा न्यूनतम भिजिबिलिटी १ हजार मिटर र अधिकतम ४ हजार मिटर मापन गरिएको छ । यस अवधिमा तराई क्षेत्रमा हुस्सु र कुहिरो दुवै देखिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल कार्यालयका अनुसार दैनिक एकतर्फी करिब १ सय ४० सम्म उडान हुने गरेका छन् । तर मौसम खराब हुँदा पर्वतीय उडानसहित नेपालगन्ज, जनकपुर, विराटनगर, भद्रपुर, भैरहवा, भरतपुर, धनगढी, भोजपुर, थामखर्कलगायतका गन्तव्यमा जाने उडानहरू बढी प्रभावित भएका छन् ।

मौसममा सुधार नआएसम्म उडान तालिका थप प्रभावित हुन सक्ने भएकाले यात्रुहरूलाई उडानअघि सम्बन्धित वायुसेवा कम्पनीसँग जानकारी लिन विमानस्थल प्रशासनले भनेको छ । बाक्लो हुस्सु र कुहिरोले अन्तर्राष्ट्रिय उडान भने प्रभावित बनेका छैनन् ।

कान्तिपुर

Link copied successfully