निर्वाचन आचारसंहिता : एआई दुरुपयोग र भ्रामक पोस्टमा कडाइ

आयोगले सामाजिक सञ्जालमा गलत, भ्रामक वा अपूर्ण सूचना प्रवाह, प्रचार सामग्री पोस्ट/सेयर तथा पैसाको लेनदेनमार्फत प्रभाव पार्ने गतिविधि गर्न नपाइने व्यवस्था गरेको छ ।

पुस १३, २०८२

कान्तिपुर संवाददाता

Election Code of Conduct: Stricter measures against AI misuse and misleading posts

What you should know

काठमाडौँ — निर्वाचन आयोगले स्वीकृत गरेको 'निर्वाचन आचारसंहिता, २०८२' ले निर्वाचन अवधिमा सामाजिक सञ्जाल र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई कडाइका साथ नियमन गर्ने व्यवस्था गरेको छ । आयोगले प्रविधिको दुरुपयोगले मतदाता, दल वा उम्मेदवारमाथि अनुचित प्रभाव पार्न सक्ने भन्दै 'डिजिटल हस्तक्षेप' रोक्न स्पष्ट निषेधात्मक प्रावधान राखेको हो ।

आयोगले सामाजिक सञ्जालमा गलत, भ्रामक वा अपूर्ण सूचना प्रवाह, प्रचार सामग्री पोस्ट/सेयर तथा पैसाको लेनदेनमार्फत प्रभाव पार्ने गतिविधि गर्न नपाइने व्यवस्था गरेको छ ।

त्यस्तै, कुनै पनि दल वा उम्मेदवारको पक्ष–विपक्षमा एआई प्रयोग गरी प्रचार, टिका–टिप्पणी, भ्रम फैलाउने सामग्री (डीपफेक, फर्जी अडियो/भिडियो) निर्माण, प्रकाशन वा प्रसारण गर्नसमेत प्रतिबन्ध लगाइएको छ । निर्वाचनसँग सम्बन्धित सामग्रीलाई आयोगको अनुमति बिना बुस्ट, प्रमोट वा टार्गेटेड विज्ञापन गर्नसमेत पाइने छैन ।

'सबैले पालना गर्नपर्ने आचरण' परिच्छेद २ को बुँदा (ठ)मा भनिएको छ, 'कुनै प्रयोजनको लागि प्रकाशन वा प्रसारण भएको सूचना वा सामग्रीलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गरी गराई सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, सेयर, कमेन्ट वा प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन लगायतका कार्य गर्न वा गराउन नहुने ।'

त्यस्तै, बुँदा (ड) मा 'सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी निर्वाचनलाई प्रभाव पार्ने उद्देश्यले होच्याउने, दुष्प्रचार गर्ने, भ्रामक सूचना सम्प्रेषण गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण (हेट स्पिच) जस्ता भ्रामक टिका–टिप्पणी गर्न वा गराउन नहुने,' भनिएको छ ।  

आचारसंहिताले प्रकाशित वा प्रसारित सूचना/सामग्रीको स्रोत स्पष्ट खुलाउनुपर्ने र प्रविधिको प्रयोगले मतदाता, दल वा उम्मेदवारमाथि अनुचित प्रभाव पार्न नहुने सिद्धान्तलाई प्राथमिकता दिएको छ । निर्वाचनको व्यवस्थापन, मतदाता शिक्षा, वा आयोगका आधिकारिक प्रयोजन बाहेक प्रविधिलाई प्रचार–प्रसारको हतियार बनाउन नपाइने आयोगको अडान छ ।

पूरा आचारसंहिता पढ्न यहाँ क्लिक गर्नुहोस् । 

कान्तिपुर

Link copied successfully