अस्थायी मतदाता सूचीमा समेटिने कर्मचारीको विवरण संकलन सुरु

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन सुरु गर्ने भएको हो ।

पुस १३, २०८२

रासस

Collection of details of employees to be included in the temporary voter list begins

What you should know

काठमाडौँ — निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन सुरु गर्ने भएको छ ।

आयोगले मतदाता नामावली ऐन, २०७३ को दफा ३० तथा अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि, २०८२ बमोजिम आयोगबाट अस्थायी मतदाता नामावली सङ्कलन कार्यक्रम स्वीकृत गरेको हो ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार अस्थायी मतदाता नामावलीमा नाम समावेश हुने मतदाताको विवरण पुस १९ देखि आगामी माघ १८ गतेसम्म सम्बन्धित निकायका कार्यालय प्रमुखले प्रमाणित गरी प्रमुख नाम दर्ता अधिकारी अधिकारी प्रदेश वा जिल्ला निर्वाचन अधिकारीको कार्यालयमा पठाउनुपर्नेछ ।

सङ्कलित नामावली प्रकाशन र दाबीविरोध तथा जाँचबुझ गरी अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थामा कार्यरत कर्मचारीको नामावली संकलन गरिने आयोगले जनाएको छ ।

ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल, कारागारमा रहेका थुनुवा र कैदी, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेका वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वीकृति लिई सञ्चालनमा रहेका वृद्धा अवस्थामा बसेका व्यक्तिहरू एवं संवैधानिक निकायका पदाधिकारी पनि यो प्रक्रियामा समेटिनेछन् ।

रासस

Link copied successfully