'ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै उहाँहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत उचित सम्मान र संरक्षण गर्न सकेमात्र यो दिवस सार्थक हुन सक्दछ भन्ने मलाई लाग्दछ,' राष्ट्रपतिले सन्देशमा भनेका छन् ।
What you should know
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण ज्येष्ठ नागरिक हाम्रा लागि प्रेरणाका पुञ्ज र समाज विकासका मार्गदर्शकका रूपमा रहेको बताएका छन् ।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८२ का अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति पौडेलले माया, ममता र करूणाका स्रोत रहेका ज्येष्ठ नागरिकलाई आदर, सम्मान, उचित संरक्षण जरुरी रहेको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकको मर्यादित जीवनयापनमा सहजीकरण गर्न आजको दिनले सबैलाई प्रेरणा प्रदान गर्ने अपेक्षासहित राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सफलताको शुभकामना व्यक्त गरेका हुन् ।
२०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै सरकारको निर्णयबमोजिम सोही दिनलाई आधार मानी राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको हो ।
यस वर्ष पनि ‘हाम्रो साझा अभियान : ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने आदर्श वाक्यका साथ ज्येष्ठ नागरिकको हक, हित तथा अधिकारको संरक्षण गर्दै सम्मान, संरक्षण र सहभागिता प्रवर्द्धन गर्नका लागि विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाउन लागिएको राष्ट्रपति पौडेलले स्मरण गरेका छन् ।
'ज्येष्ठ नागरिकको अनुभव, ज्ञान र योगदानको कदर गर्दै उहाँहरूलाई घर, परिवार, टोल, समाज साथै राज्यबाट समेत उचित सम्मान र संरक्षण गर्न सकेमात्र यो दिवस सार्थक हुन सक्दछ भन्ने मलाई लाग्दछ,' राष्ट्रपतिले सन्देशमा भनेका छन् ।
ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवको पुस्तान्तरणका लागि अनुकूल परिस्थिति निर्माण गर्न परिवारका सदस्य, समाज, सङ्घसंस्था तथा तीनै तहका सरकारबीच सहकार्य गरी ज्येष्ठ नागरिकप्रति सम्मानित व्यवहार र सहज जीवनयापनका लागि सामूहिक प्रयास गर्न सबैमा उनले आग्रह गरेका छन् ।
सरकारले व्यवस्था गरेको सामाजिक सुरक्षा र संरक्षणका विभिन्न सेवा सुविधाको प्रभावकारितामा वृद्धि गर्दै दक्षतापूर्वक कार्यान्वयन गर्न सम्बद्ध सबैमा राष्ट्रपतिले आह्वान गरेका छन् ।
