नवनियुक्त परराष्ट्रमन्त्री शर्माद्वारा शपथ तथा पदभार ग्रहण

परराष्ट्रमन्त्रीमा शर्मालाई नियुक्त गरेसँगै सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ १५ सदस्यीय भएको छ ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Newly appointed Foreign Minister Sharma takes oath and assumes office

काठमाडौँ — नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्मा शुक्रबार शपथ तथा पदभार ग्रहण गरेका छन् । शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले परराष्ट्रमन्त्री नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

राष्ट्रपति कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा शर्माले शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित सरकारका उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रमुख, संवैधानिक अंगका प्रमुखको सहभागिता थियो । शपथ ग्रहण लगत्तै मन्त्री शर्माले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गरेका थिए ।

नेपाली सेनाका पूर्वरथी शर्माले तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको भूमिका निर्वाह गरेका थिए  । संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको फोर्स कमाण्डरको जिम्मेवारीसमेत सम्हालिसकेका शर्मा प्रतिरक्षा विश्वविद्यालयको अध्यक्ष पनि हुन् ।

परराष्ट्रमन्त्रीमा शर्मालाई नियुक्त गरेसँगै कार्की नेतृत्वको मन्त्रिपरिषद्‌ १५ सदस्यीय भएको छ ।

कान्तिपुर

Link copied successfully