१० वर्षअघि नक्कली राहदानी बनाएर साउदी पुगे, डिपोर्ट भएर फर्किंदा राष्ट्रियता नै खुलेन

सोधपुछका क्रममा तीनैजनाले नेपालमा आफ्नो स्थायी ठेगाना उल्लेख गर्न नसकेको, नेपाली र मातृभाषा पनि बोल्न नसकेपछि अध्यागमनले नियन्त्रणमा लिएर थप सोधपुछ गर्दा दशकअघि नै गिरोहमार्फत हस्तलिखित नेपाली राहदानीमा साउदी गएको खुलेको हो ।

पुस ११, २०८२

मातृका दाहाल

He reached Saudi Arabia 10 years ago using a fake passport, but when he was deported and returned, his nationality was not revealed.

What you should know

काठमाडौँ — साउदी अरबबाट डिपोर्ट भएर नेपाल आएका तीन जना महिला नक्कली राहदानीबाट १० वर्षअघि भारत हुँदै गएको पाइएको छ । नेपाली हस्तलिखित राहदानीमा फोटो परिवर्तन गरी उनीहरू साउदी पुगेको पाइएको हो ।

नेपालको धनकुटा र झापा स्थायी ठेगाना उल्लेख गरी तीनैजना महिला साउदी गएका थिए । उनीहरूलाई त्यहाँको सरकारले निष्कासन गरेकामा साउदीस्थित नेपाली राजदूतावासले ट्राभल डकुमेन्ट बनाएर मंगलबार नेपाल पठाएको थियो । 

डिपोर्ट भएर आएका मानिसलाई त्रिभुवन विमानस्थल अध्यागमनले सोधपुछ गर्छ । डिपोर्ट गरेका तीन जना कलमाया तामाङ, इन्द्रमाया लिम्बू र सानुमाया तामाङका नाममा नेपाली राजदूतावासमार्फत ट्राभल डकुमेन्ट बनाएर नेपाल आएका थिए ।

सोधपुछका क्रममा तीनैजनाले नेपालमा आफ्नो स्थायी ठेगाना उल्लेख गर्न नसकेको, नेपाली र मातृभाषा पनि बोल्न नसकेपछि अध्यागमनले नियन्त्रणमा लिएर थप सोधपुछ गर्दा दशकअघि नै गिरोहमार्फत हस्तलिखित नेपाली राहदानीमा साउदी गएको खुलेको हो ।

साथै उनीहरू नेपाली नागरिकसमेत नभएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानमा संलग्न अधिकारीका अनुसार दुईजना भारतीय र एक जना बंगलादेशकी महिला भएको र उनीहरू गिरोहमार्फत नेपाली नागरिक उल्लेख गरेर फर्जी कागजातबाट साउदी पुगेको आशंका छ । तीनै जनालाई विमानस्थल अध्यागमनले थप अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएकामा त्यहाँबाट पनि थप अनुसन्धान गर्न प्रहरीलाई पठाउने तयारी छ।

मंगलबार कतार एयरवेजबाट तीनैजना जना नेपाल आएकामा उनीहरूको राष्ट्रियता खुल्ने प्रमाण नभेटिएपछि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको थियो । राष्ट्रियता खुल्ने वैध कागजात नहुनेलाई दूतावासले कसरी ट्राभल डकुमेन्ट बनायो भन्ने विषय पनि छानबिनको विषय रहेको अध्यागमनका एक अधिकारीले बताए ।

विगतमा कहिले गए, उनीहरू कहाँका हुन् र नेपालको स्थायी ठेगाना कहाँ हो भन्ने विषय नखुल्नु, नेपाली भाषा र मातृ भाषा पनि बोल्न नजान्नु अनि हस्तलिखित राहदानीबाट गए पनि यतिका वर्ष अर्को राहदानी नबनाउनुका पछाडि गडबढी देखिएपछि विस्तृत अनुसन्धान अघि बढाइएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीको भनाइ छ ।

संगठित गिरोहले रकम असुलेर फर्जी कागजात बनाई भारतबाट विभिन्न देश पठाउने गरेका तथ्यहरू यसअघि पनि बाहिरिएका थिए ।

मातृका दाहाल दाहाल विगत डेढ दशकदेखि पत्रकारिता गरिरहेका छन् । उनी राष्ट्रिय सुरक्षा, सुशासन तथा सामाजिक जनचासाेका विषयमा समाचार लेख्छन् ।

Link copied successfully