ज्येष्ठ नागरिकका लागि प्रदेशैपिच्छे नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिने

स्वास्थ्य तथा यातायात सुविधामा सुधार गर्दै, सरकारले प्रत्येक प्रदेशमा नि:शुल्क एम्बुलेन्स र हटलाइन सेवा एक महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ।

पुस ११, २०८२

कान्तिपुर संवाददाता

Free ambulance service to be operated in each province for senior citizens

What you should know

काठमाडौँ — महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले ज्येष्ठ नागरिकहरूको हितका लागि विभिन्न कल्याणकारी योजनाहरू ल्याइएको बताएकी छन्।

पाँचौँ राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ज्येष्ठ नागरिकका समस्या समाधान गर्न तीनै तहका सरकार, नागरिक समाज, परिवारलगायत सरोकार भएका सबै पक्षको हातेमालो र सहयोग आवश्यक रहेको औँल्याइन्।

मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिकहरूले भोग्नुपरेका स्वास्थ्यसम्बन्धी समस्या तथा गुनासोहरू सिधै सुन्नका लागि ‘१११५’ नम्बरको विशेष हटलाइन सेवा व्यवस्थापन गर्ने प्रक्रिया स्वास्थ्य मन्त्रालयसँगको सहकार्यमा अगाडि बढाइएको जानकारी दिइन्। उनले भनिन्, “यस सेवामार्फत ज्येष्ठ नागरिकहरूले आफ्ना स्वास्थ्यसम्बन्धी समस्या र गुनासोहरू कुनै पनि समयमा सिधै मन्त्रालयसमक्ष राख्न सक्नेछन्।”

उनका अनुसार मन्त्रालयले हरेक प्रदेशमा ज्येष्ठ नागरिक लक्षित नि:शुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। यसका लागि आवश्यक गृहकार्य भइरहेको र एक महिनाभित्रै सेवा सञ्चालन गर्ने लक्ष्य राखिएको उनले बताइन्। विशेषगरी पशुपति वृद्धाश्रमको अनुगमनका क्रममा देखिएको स्वास्थ्यकर्मी तथा एम्बुलेन्सको अभावलाई सम्बोधन गर्दै उक्त आश्रमको स्तरोन्नति गर्ने कार्यसमेत अगाडि बढिसकेको मन्त्री श्रेष्ठले जानकारी दिइन्।

यस्तै, मन्त्री श्रेष्ठले ज्येष्ठ नागरिकहरूलाई सार्वजनिक यातायातमा थप सहजता प्रदान गर्न अतिरिक्त सुविधा तथा छुट उपलब्ध गराउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल र समन्वय भइरहेको बताइन्। यसबाट ज्येष्ठ नागरिकहरूको आवतजावत थप सुलभ र सम्मानजनक हुने अपेक्षा गरिएको छ।

नेपाल सरकारले २०५१ साल पुस ११ गते पहिलो पटक वृद्ध भत्ता घोषणा गरेको ऐतिहासिक दिनको स्मरणमा २०७८ सालदेखि राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरेको हो।

कान्तिपुर

Link copied successfully