माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माको महत्त्वपूर्ण भूमिका थियो ।
काठमाडौँ — नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्ने भएका छन् । तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आइसकेपछि सेना समायोजन प्राविधिक समितिका संयोजकसमेत रहेका शर्मालाई प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्रमन्त्री बनाउन लागेकी हुन् ।
बालुवाटार स्रोतका अनुसार शर्मालाई परराष्ट्रमन्त्री बनाउने निश्चित भइसकेको छ । 'शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्ने निश्चित भएको छ,' स्रोतले भन्यो ।
प्रधानमन्त्री कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलकहाँ परराष्ट्रमन्त्रीमा नियुक्तिका लागि शर्माको नाम सिफारिस गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।
राष्ट्रपतिको सचिवालयका अनुसार परराष्ट्रमन्त्रीमा सिफारिस भएका शर्माको शपथ शुक्रबार दिउँसो २ बजेका लागि तय भएको छ ।
शर्माले करिब ३९ वर्ष नेपाली सेनामा सेवा गरे । सेनाको विभिन्न तहमा नेतृत्वदायी भूमिकामा रहेका उनी अन्तर्राष्ट्रिय शान्ति स्थापनार्थसमेत झन्डै ४ वर्ष खटिएका थिए । माओवादी लडाकुलाई नेपाली सेनामा समायोजन गर्न शर्माको महत्त्वपूर्ण भूमिका थियो ।
